Butwal Today

रक्षाबन्धन र हाम्रो परम्परा

१२ भाद्र २०८३, शुक्रबार
अ+
अ-

रक्षा, कर्म, ज्ञान र स्नेह समेतको एउटा गजबको उत्सवको नाम हो रक्षावन्धन । रक्षावन्धनका अनेकन् नामहरू छन् । यस दिनलाई ऋषि पूर्णिमा पनि भन्ने गरिन्छ । कसै कसैले क्वाँटी पूर्णिमा समेत भन्ने गर्दछन् ।

जेसुकै नाम दिए पनि यो पर्व रक्षावन्धनका नामले प्रसिद्धि पाएको छ भन्दा अति वेश हुन्छ । रक्षावन्धन पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन श्रद्धा र प्रेमकासाथ मनाउने गरिन्छ । रक्षावन्धनको खास अर्थ खोज्दा रक्षावन्धनम, रक्षायैवन्धन समेत भन्ने गरिन्छ । वास्तवमा जुनसुकै अनिष्टबाट बच्नका निम्ति यो पर्व मनाउने गरिन्छ । वन्धन भनेपछि बाँध्नु भन्ने हुन्छ ।

यहाँ बाँध्नु भनेको कुनै वन्धनमा पार्नु होइन । यसै पूर्णिमाको दिनमा विधिपूर्वक मन्त्रिएको धागो अर्थात रक्षावन्धन नाडीमा बाँध्नु नै यसको खास महत्व हो । यस दिन विधिपूर्वक तयार गरिएको जनै (जसलाई यज्ञोपवित पनि भन्ने गरिन्छ) लाई धारण गरिन्छ ।

यो पर्वमा पहिलो रक्षावन्धन बाँध्ने र नयाँ जनै धारण गर्ने र दोश्रो भनेको यज्ञोपवीत धारण नगर्नेहरूले नारायण कवच, सूर्य कवच र सरस्वती कवचबाट मन्त्रणा गरिएको धागोमात्र बाँध्ने पनि गर्दछन् । जसले यज्ञोपवीत धारण गर्नुहुन्छ उहाँहरूलाई अर्को शब्दमा तागाधारी समेत भन्ने गरिन्छ । यज्ञोपवीतलाई प्राकृतिक सृष्टिकर्तासंग यसको उत्पत्ति भएको मानिन्छ ।

यसलाई शास्त्रीय विधिअनुसार तयार गर्ने गरिन्छ । जनै धारण गरेमा मुटुसंग सम्वन्धित रोगबाट बच्न सकिनेदेखि लिएर बुद्धि, बल, आयु तेज आदिको वृद्धि हुने विश्वास समेत गरिन्छ । नयाँ जनै (यज्ञसुत्र, ब्रह्मसुत्र ) धारण गर्दा केही मन्त्र उच्चारण गरिन्छ जस्तोः–

यज्ञोपवितं परमं पवितं प्रजापतेर्यत् सहजं पुरस्तात् । आयुष्यमग्र्यम्प्रतितमुञ्च शुभ्रं यज्ञोपवितं बलमस्तु तेजः ।।”

यसबाट पनि माथि भनिएको कुरा पुष्टि हुन्छ । जनै अर्थात यज्ञसुत्र खासगरेर एक पटकमा ३ महिना मात्र प्रयोग गर्ने त्यसपछि यसलाई त्याग्नु पर्दछ भन्ने भनाइ पाइन्छ । हरेक पटक आसौज या सुतक परेमा पनि नयाँ यज्ञोपवीत धारण गर्नु पर्दछ भन्ने परम्परा पनि रहेको पाइन्छ । यसलाई धारण गर्दा जसरी मन्त्रोच्चारण सहित धारण गर्ने गरिन्छ, त्यसैगरी यसलाई त्याग्ने समयमा पनि मन्त्रोच्चारण सहित त्याग्ने गरिन्छ । जति दिन धारण गर्ने हो त्यो समयसम्म धारण गरेर नियमित त्याग्ने र आकष्मिकरूपले त्याग्ने या जुनसुकै कारणले त्याग्न लागिएको भए पनि मन्त्रोच्चारण सहित त्याग्नु पर्दछ भन्ने शास्त्रिय मान्यता रहेको छ । यज्ञोसुत्र त्याग्दा यसरी मन्त्र उच्चारण गरिन्छ:–
“यतावद् विनया प्रयन्त ब्रम्हत्व धारित मया ।
अशुद्धत्वात् परित्यागो गच्छ शुत्र यथासुखम् ।। ”

यी दुबै मन्त्र रुद्री (रुद्राभिशेक) मा रहेको पाइन्छ । जनैमा तीनसरा रहेको हुन्छ र यो जोडीमा रहन्छ । अर्थात दुईवटा जोडदा छ सरा हुन्छ यसैमा दुईवटा शिखा भएको जनैमात्र धारण गर्नुपर्दछ । यी तिन सरालाई माता पिता र गूरुm प्रति कृतज्ञ हुन सम्झाउँछ समेत भनिन्छ ।

कसैलाई जनै धारण गर्न इच्छा नहुन पनि सक्छ जसलाई इच्छा हुँदैन उसले धारण गर्नैपर्छ भनेर यसकालागि कर बल आदि कहिल्यै गर्नु हुँदैन । आफ्नो मनले जे जसरी जानेको हुन्छ त्यसैगरी उसले प्रयोग गर्ने वा नगर्ने उसको स्वविवेकको कुरा हो । यसरी मन्त्रीएर नाडीमा जुन डोरो वा धागो बाँध्ने गरिन्छ त्यसलाई कतै कतै राखी वा रक्षासुत्र समेत भन्ने गरिन्छ ।

यसलाई खासगरेर आफ्ना पुज्य गुरुmहरूको हातबाट यजमानहरूका हातमा बाँधिदिने प्रचलन रहेको छ । यो धागो बाँध्ने समयमा एउटा मन्त्र उच्चारण गरेर बाँधिदिने गरिन्छ । जनै बाटेको धागोबाट विधिपूर्वक शिखा बनाएर धारण गरिन्छ भने डोरी काँचो धागोको रहन्छ । यो रक्षावन्धन वलिराजाको कथासंग जोडीएको पाइन्छ । राखी पनि काँचो धागोबाट तयार गरिन्छ तर यो विशेष किसिमले तयार पारिएको हुन्छ । तर जुन डोरीको कुरा यहाँ उठाइएको छ त्यो सिधै धागो रहन्छ ।

यसलाई कसैले रातो तथा पहेंलो रंग दिने गर्दछन् । आजभोली कारखानाबाट तयार पारिएको रंगिन धागो प्रयोग गरेको पाइन्छ । यो पनि आफ्नो ठाउँको चलन अनुसार बाँध्ने गरिन्छ । कतै कतै यो राखीलाई दिदी वा बहिनीले दाजु भाइको नाडीमा बाँधिदिने गर्दछन् । प्रायः गरेर पहाडी भेगतिर यजमानहरूले बाध्ने गरेको पाइन्छ । तराइतिर दिदी बहिनीले दाजु भाइलाई बाँध्ने गर्दछन् । बलिराजाको कथासंग जोडिएर आएको हुनाले यो राखी वा डोरी बाँध्ने क्रममा यस्तो मन्त्र उच्चारण गरिन्छ ।

“येन वद्धो वलिराजा दानवेन्द्रोमहावलः ।
तेन त्वं प्रतिवध्नामि रक्षेमा चलमा चल ।।” भन्ने गरिन्छ ।

रक्षावन्धनको दिनमा विहानै जलाशयमा पुगेर महासंकल्प गरेर पुरुषहरूले विधिपूर्वक स्नान गर्दछन् अनि आफ्ना पितृ तथा ऋषिहरूलाई तर्पण दिने गर्दछन् । तत्पश्चात मात्र धेरैजना मिलेर कसैका घरमा वा शिव मन्दिरमा पुगेर वैदीक विधि अनुसार धागो तथा जनैको पूजा गरिन्छ । विधिपूर्वक पूजा गरिएको यज्ञोपवीत या धागो मात्र धारण गर्ने गरिन्छ । त्यसैले यो पर्वको वेग्लै महत्व रहेको छ ।

जनै पूर्णिमाका दिन जनै पूजा गर्नु, धारण गर्नु अनि धागो वा राखी धारण गर्नु एउटा पक्ष रह्यो । यसैगरेर यसको दोस्रो महत्वपूर्ण पक्ष भनेको आफ्ना पितृहरूलाई तर्पण दिनु र ऋषिहरूलाई तर्पण दिनु हो । यसको तेस्रो र महत्वपूर्ण पक्ष भनेको क्वाँटी खानु हो । यस पर्वमा क्वाँटी खाने भएकाले क्वाँटी पूर्णिमाबाट चिनिएको कुरा पहिले पनि उल्लेख गरिएको छ ।

क्वाँटीले हाम्रो शरीरलाई अत्यन्त फाइदा गर्दछ । गेडागुडी त्यो पनि क्वाँटी आकारमा रहेका गेडागुडी प्रयोग गर्नु अति उत्तम कुरा मानिन्छ । जसरी असार १५ गतेका दिनमा दही चिउरा खाने पर्वले चिनिन्छ भने श्रावण १५ गतेका दिनमा खिर खाने पर्वको रूपमा चिनिन्छ । यसैगरेर जनैपूर्णिमाको पर्वलाई क्वाँटी खाने पर्वको रूपमा पनि चिनिन्छ ।

यसरी जसले जसरी मनाउन चाहन्छ उसैगरेर मनाउँदा पनि सहज हुने भएकाले यो बहुरूपी पर्व हो भन्न किन गाह्रो मान्नु र ? चाहे प्राचिन कालका कुरा गरौं, चाहे परम्पराका कुरा गरौं या यसलाई ल्याएर विज्ञानसंग जोडने हो भने यो पर्व मित्रताको पर्वको रूपमा चिनिन्छ । यो पर्वमा आपसी मित्रता सबैभन्दा ठूलो कुरा हो भनेर बुझ्नुपर्दछ ।

आज हामी आपसमा सम्वन्ध कायम गर्न नसकेर वा नजानेर वा आफ्नै मनको दम्भले आफैमा जलेका छौं र गलेका छौं । वास्तवमा यो पर्वको मर्मलाई बुझेर सोही अनुसार मनाउने हो भने विगतका कल्मसहरू आफै दूर हुँदै जाँनेछन् । अनि त साथमा मित्रताको थुप्रो बढदै गएको महसुस हुनेछ । हामी सामाजिक परिवेशको कुरा गर्दा कोही धनका गरिव भन्दा मनका बढ्ता गरिव छौं । धनका गरीव भन्दा मनका गरीव बढता प्रताडित हुन्छन् ।

उनीहरू न त खुलेर हाँस्न सक्छन् न खुलेर बोल्न सक्छन । मन नै खुम्चिएर आएपछि कसरी हाँस्नु कसरी रमाउनु ? उनीहरू पनि सच्चिएर आउने दिन भनेको यही जनै पूर्णिमा पर्व हो । विहानै उठेर जलाशयमा पुगेर महासंकल्पका साथ स्नान गर्नु, सामुहिक पितृ तर्पण र ऋषिलाई तर्पण दिनु , पुरोहितका हातबाट रक्षा वन्धन बाध्नु वा आफ्ना प्यारी दिदी बहिनीका हातबाट राखी बाँध्नु र घर परिवार सबै एकसाथ बसेर क्वाँटी सहित खाना खानु यो भन्दा ठूले पर्व अरू के हुन सक्छ ? सबैमा रक्षवन्धनको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?