Butwal Today

भैँसीलाई सुत्केरी भत्ता

१२ भाद्र २०८३, शुक्रबार
अ+
अ-

गुल्मी ।  गुल्मीको मालिका गाउँपालिकामा पहिलो बेत ब्याउने भैँसीका धनी किसानलाई सुत्केरी भत्ता उपलब्ध गराउँदै आएको छ । पछिल्लो समयमा गाउँघरमा भैंसीपालन गर्ने किसानहरू घट्दै गएको हुँदा उनीहरूलाई प्रोत्साहन गर्न पालिकाद्वारा उक्त कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले बताए ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३र८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत पहिलो बेत ब्याउने प्रत्येक भैँसीका धनी किसानलाई यस आर्थिक वर्षदेखि तीन हजार रूपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराइने जनाएको छ । पछिल्लो समय गाउँघरमा भैंसीपालन गर्ने किसानको सङ्ख्या घट्दै गएको र भैँसीका पाडीहरू समेत सानै उमेरमा बिक्री गर्न थालेपछि त्यसलाई रोक्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष अर्यालले बताएका छन् ।

उपाध्यक्ष अर्यालका अनुसार आर्थिक वर्ष २०८२/८३ देखि लागु गरिएको कार्यक्रमबाट गत वर्ष एक सयभन्दा बढी किसानले सुत्केरी भत्ता प्राप्त गरिसकेको बताइएको छ । गाउँपालिकाले गत साउन १ गतेदेखि लागू हुने गरी पहिलो बेत ब्याएका भैँसीका धनी किसानलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालय वा गाउँपालिकाको पशु सेवा शाखामा निवेदन दिन आग्रह समेत गरिसकेको छ।

उक्त सुत्केरी भत्ता प्राप्त गर्नका लागि अनिवार्य रूपमा किसानहरूको आफ्नै गोठमा जन्मेको पाडी पहिलो बेत ब्याएको हुनुपर्ने गाउँपालिकाले जनाएको छ । त्यसका लागि पालिकाले सम्बन्धित वडाको सिफारिस, लालपुर्जा र नागरिकताको प्रतिलिपि, सुत्केरी भैंसीसँग किसानको तस्बिर, बैंक खाता तथा चेकको विवरण, फोटो, छिमेकीको हस्ताक्षर र सर्जमिन मुचुल्कासहित निवेदन पेस गर्नु पर्ने व्यवस्था गरेको छ ।

पालिकाले सुरु गरेको प्रोत्साहन कार्यक्रमले पशुपालनमा लागेका किसानलाई थप हौसला मिलेको मालिका गाउँपालिका–६ का किसान हुमाकान्त अर्यालले बताए । “यस प्रकारको प्रोत्साहनले हामी जस्ता किसानलाई भैंसीपालन व्यवसायमा लाग्न थप हौसला पुगेको छ,” उनले भने । सोही गाउँपालिका–६ का वडाध्यक्ष दीपक भण्डारीले उक्त कार्यक्रमले किसानलाई प्रोत्साहन गर्नुका साथै सानै उमेरमा पाडी बिक्री गर्ने समस्यालाई समेत न्यूनीकरण गर्न सहयोग पुग्ने बताए ।

मालिका गाउँपालिकाले पहिलो बेत ब्याउने भैँसीलाई सुत्केरी भत्ता वितरण कार्यविधि–२०८० अनुसार किसानलाई उक्त रकम उपलब्ध गराउने जनाएको छ । यसैबिच, गुल्मीकै सत्यवती गाउँपालिकाले पनि पशुपालन प्रवद्र्धनका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने कृषकलाई प्रोत्साहन गर्दै पहिलो बेत ब्याउने गाईका धनी किसानलाई प्रतिगाई १० हजार रूपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने जनाएको छ ।

पछिल्लो समय गाउँघरमा पशुपालन गर्ने किसानहरू बिस्तारै घट्दै जान थालेपछि जिल्लाका स्थानीय तहले पशुपालनको संरक्षण र प्रवद्र्धनका लागि विभिन्न प्रोत्साहनमुखी कार्यक्रम सञ्चालनमा ल्याउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?