© 2026
काठमाडौँ ।
सरकारले भोटेकोशी बाढीपीडितलाई सघाउन राहत सामग्री सङ्कलन गर्न तीन स्थान तोकेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदेशबाट हवाईमार्ग हुँदै आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदामघरमा जम्मा गरिनेछ। त्यसपछि आवश्यकताअनुसार सरकारले नै प्रभावित क्षेत्रमा वितरण गर्नेछ ।
यस्तै, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरेनीस्थित नेपाली सेनाको ब्यारेकमा पनि राहत सामग्री सङ्कलन गरिनेछ । सङ्कलित सामग्री आवश्यकताअनुसार प्रभावित क्षेत्रमा वितरण गरिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार बाढी प्रभावितका लागि राहत सहयोग गर्न चाहनेले सरकारले तोकेका स्थानमा नै सामग्री पुर्याउनुपर्नेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदामघरमा राहत सामग्री जम्मा गर्न चाहनेले डब्लुएफपीका प्रतिनिधि श्रद्धा भट्टलाई (९८४१८७९२२२), नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेकमा राहत सामग्री दिन चाहनेले नेपाली सेनाका आविष्कारलाई (९८५१२३४३२४) र धादिङको बैरेनीस्थित ब्यारेकमा राहत सामग्री दिन चाहनेले दिलीप घलेलाई (९८५११५४२२६) सम्पर्क गर्न सक्नेछन् ।
साथै, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पनि राहत सहयोग गर्न सकिने जनाइएको छ ।
आर्थिक सहयोग गर्न चाहनेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न सक्नेछन् । उक्त कोषका लागि हिमालयन बैंकको डलर खाता, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, राष्ट्रिय वाणिज्य बैंक, एभरेस्ट बैंक, नेपाल बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक, नबिल बैंक र कृषि विकास बैंकमार्फत तथा राष्ट्रिय वाणिज्य बैंकको क्यूआर कोडमार्फत रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।