Butwal Today

विपद् व्यवस्थापनमा स्रोत–साधनको अभाव हुन दिँदैनौँ : अर्थमन्त्री वाग्ले

११ भाद्र २०८३, बिहीबार
अ+
अ-

काठमान्डौँ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा आइपरेको प्राकृतिक विपद्को सामना गर्न सरकारसँग स्रोत र साधनको कुनै अभाव नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिहीबार सिंहदरबारमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै उनले तत्काल उद्धार तथा राहत र दीर्घकालीन पुनर्निर्माणका लागि आन्तरिक तथा बाह्य दुवै स्रोतबाट बजेटको सुनिश्चितता भइसकेको बताए ।

राष्ट्रिय संकटको घडीमा सम्पूर्ण राजनीतिक दलहरू एकै ठाउँमा उभिनु नेपाली राजनीतिको सकारात्मक पक्ष भएको उल्लेख गर्दै उनले सरकार, राजनीतिक दल, नागरिक समाज र निजी क्षेत्र सबै एकीकृत भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘घटनालगत्तै विश्व बैंकसँगको समन्वयमा करिब २५ अर्ब रुपैयाँ बराबरको आर्थिक सहायता सुनिश्चित भइसकेको छ । यसका अतिरिक्त चीन, भारत, जापान, एसियाली विकास बैंक (एडीबी) र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी)  बाट पनि सहयोगको प्रतिबद्धता प्राप्त भएको छ ।’

मन्त्री वाग्लेका अनुसार चालु आर्थिक वर्षको बजेटमा विपद् व्यवस्थापनका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ३४ करोड रुपैयाँ र गृह मन्त्रालयको कोषमा १ अर्ब १७ करोड रुपैयाँ सुरक्षित रहेकाले तत्काल उद्धार तथा राहतमा कुनै कमी नहुने उनले स्पष्ट पारे ।

अर्थमन्त्री वाग्लेले २०७२ सालको भूकम्पपछिको सफल पुनर्निर्माणको अनुभवलाई आधार बनाउँदै अहिले पनि वैज्ञानिक तथ्य र अध्ययनका आधारमा पुनर्निर्माणको महाअभियान सञ्चालन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?