© 2026
रसुवा ।
रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बुधबारदेखि माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ३५० जना मजदुर तथा स्थानीयको नेपाली सेनाले उद्धार गरेको छ ।
प्रधानमन्त्री सचिवालयका अनुसार सुरुङभित्र अझै १०० जनाभन्दा बढी फसेका छन् । उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न नेपाली सेनाको टोली उद्धारमा जुटिरहेको छ ।
सुरुङभित्रको जटिल र जोखिमपूर्ण उद्धार अभियानका लागि नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर, त्रिशूलीबाट जमदार भक्तजन बस्नेतको कमान्डमा १/३ को सैन्य टोली परिचालन गरिएको सचिवालयले जनाएको छ ।
यसैबीच, बाढीको उच्च जोखिममा रहेका रसुवाका अन्य विकट क्षेत्रमा पनि सेनाले उद्धार कार्य जारी राखेको छ। सिक्युआरटी धुन्चे ब्यारेकबाट सहसेनानी अभिषेक शाहीको कमान्डमा परिचालित १/५ को टोलीले स्याफ्रुबेसी, टिमुरे, मैलुङ, ठूलो हाकु र हाकुबेसीका विभिन्न स्थानबाट थप ५३३ जनालाई सुरक्षित स्थानमा सारेको छ ।
नेपाली सेनाले जोखिममा रहेका नागरिकको उद्धार तथा सुरक्षित स्थानान्तरणलाई प्राथमिकतामा राख्दै प्रभावित क्षेत्रमा उद्धार अभियान जारी राखेको जनाएको छ ।