© 2026
प्यारा विद्यार्थीहरू, कठीन यात्रामा लम्किरहेका तपाईंहरूका पाइला सँधै अघि बढिरहुन् भन्ने मनोकांक्षा सहित केही अनुभवजन्य विचारहरूलाई यहाँ प्रस्तुत गर्दछु ।
तपाईंहरूमध्ये केहीले अघाउञ्जेल खाना खानु भएन कि आज ? कतिजना रातभर राम्रोसँग सुत्न सक्नु भएन कि ? सायद कतिपयका बाबुआमाको रातभर झगडा परेको थियो कि ? वास्तवमा घरभन्दा विद्यालय नै सुरक्षित ठाउँ हो कि किनकि तपाईंका बाबुआमाले पिट्नुहुन्छ कि ? तपाईंहरूले गृहकार्य सम्झिनु भएको छ कि ?
तपाईंहरूसँग कपि, कलम, बिजुली, इन्टरनेट छैन कि ? तपाईंहरूका बुबाआमा काममा जानुभएको छ कि ? भाइबहिनीलाई हेरचाह गर्नुपर्छ कि ? भविष्यको चिन्ता छ कि ? मलाई यी सबै परिस्थितिको ज्ञान छ । तसर्थ म तपाईंहरूलाई आफ्नो सपना पूरा गर्न लाग्नुहोस् भन्न चाहन्न । वास्तवमा सपना महंगो हुन्छ र विद्यार्थी जीवनमा गोजी खालि हुन्छ ।
महंगा सपना किन्ने क्षमता हुदैन तर तपाईंसँग अरू धेरै छ । समय छ । श्वासप्रश्वास ठीक चलिरहेको छ । कामकाजी दिमाग छ । विद्यालयमा डेस्क छ । शिक्षकहरू हुनुहुन्छ । किताबहरू छन् । साथीहरू छन् । तपाईं स्वयम् हुनुहुन्छ । अभावका बारेमा गुनासो र चिन्ताभन्दा प्राप्तिको सदुपयोग गर्नु बुद्धिमानी हुन्छ । तपाईंलाई प्राप्त परिस्थिति तपाईंको होइन ।
तपाईं जहाँ बस्नुहुन्छ त्यो तपाईंको ठेगाना होइन । तपाईं समाजमा भैरहने होहल्ला, झगडा, द्वन्द्व, हिंसा, भोक र लाजको पोको होइन । तर तपाईं यी सबै परिस्थितिमा बाँच्ने र आफूलाई अब्बल सावित गर्ने शक्ति हो । आफूलाई भाग्य निर्माता मान्नुहोस् ।
आफ्नो अस्तित्वमा गर्व गर्नुहोस् । प्रसिद्ध साहित्यकार मार्क ट्वेनले भनेका छन् कि कुनैपनि मानिस आत्मस्वीकृति विना सन्तुष्ट हुन सक्दैन । अर्थात् आफूलाई सहज हुने कार्यमा लाग्नुहोस् । समय चिन्नुहोस् र सहीमार्ग चुन्नुहोस् । साहित्यकार चाल्र्स डिकेन्स्को चेस्सायर बिरालोको कथा प्रसंग छ । एकदिन एलिस कतै जाँदै थियो । हिंड्दै जाँदा उ दोबाटोमा पुग्यो ।
एउटा बाटो माथितिर लाग्यो । अर्को बाटो ओरालो लाग्यो । कुन बाटो जाने ? एलिस अलमलमा प¥यो । नजिकै एउटा बिरालो रहेछ । उसले बिरालोलाई सोध्यो— म कुन बाटो जाउँ ? बिरालोले सोध्यो — तपाईंलाई कहाँ जानुपर्ने हो ? त्यो त मलाई थाहा छैन, एलिसले भन्यो । बिरालोले भन्यो — त्यसो भए जुन बाटो गएपनि हुन्छ । अर्थात् तपाईंको गन्तब्य वा लक्ष्य विभिन्न विकृति र विसंगतिको चिन्ता गर्ने होइन । तपाईंको अर्जुनदृष्टि उत्कृष्ट ग्रेडसहित उतीर्ण हुने हुनुपर्छ ।
त्यसका लागि कुन बाटो रोज्ने वा रणनीति अपनाउने निश्चित गर्नुपर्छ । देखाजाय वा परेको ब्यहोरौंला वा पछि गरिहालिन्छ नि भन्ने मानसिकताले सफलतामा पुगिदैन । समयमै बुद्धि पु¥याउन सकिएन भने पछिबाट पछुताउँदैमा गुमिसकेको समय र सफलता प्राप्त हुदैन । प्यारा विद्यार्थीहरू, तपाईंहरूलाई धेरै झूठा कुरा गरिएको हुन्छ । बाबुआमाले तपाईंको नतिजाका बारेमा असन्तुष्टि पोख्नुहुन्छ । आफैसँग वा छिमेकीका छोराछोरीसँग तुलना गर्नुहुन्छ । दाई दिदीसँग तुलना गर्नुहुन्छ ।
केही गल्ती कमजोरीलाई पटकपटक भनेर चिढाउनुहुन्छ । तपाईंका छिमेकीहरू र शिक्षकहरू समेतले होच्याउने तरिकाले टिप्पणी गर्नुहुन्छ — तिमी पछाडि प¥यौ । तिमी सायद अनुत्तीर्ण हुन्छौ । यस्तै हो भने खाडीमा जानुपर्ला । यतिपनि थाहा नहुनेले के माथिल्लो ग्रेडको आशा गर्नु ? कुनै सानोतिनो जागिर पाए गरे हुन्छ । पढेर पार लाग्ला जस्तो देख्दिन । आदि ।
यी सबै टिप्पणी वा सल्लाहहरू विष समान हुन् । यिनीहरूबाट टाढा जानुस् भन्न म चाहदैन । सत्य के हो भने संसारका धेरै सफल मानिसहरूले तपाईंको भन्दा धेरै नराम्रो परिस्थितिमा कार्य सुरू गर्नुभएको थियो । उदाहरणका लागि अमेरिकी राष्ट्रपति अब्राहम लिङकन, स्टारबक्स्का मालिक हवार्ड शुल्ज, न्यूरोसर्जन डा. बेन कार्सन, नेपालका महाकवि लक्ष्मी प्रसाद देवकोटा, योगमाया, साहित्यकार झमककुमारी घिमिरे आदि धेरै गरिवी, अपांगता र सामाजिक अपमानका बाबजु्द मुलुक र मानवताका लागि धेरै उदाहरणीय कार्य गर्नुभएको छ । हामीले उहाँहरूको जीवनकथा पढ्ने मात्र होइन ।
उहाँहरूले अपनाउनुभएका वानी ब्यवहार, रणनीति र प्रक्रियाहरू ग्रहण गर्नु आवश्यक छ । उहाँहरूको मूलमन्त्र भनेको आफ्नो विगतले आफ्नो भविष्य लेख्ने होइन । हामीले सुन्नुपर्ने ब्यक्तित्व अष्ट्रेलियाका निक भुजिसिक हुनुहुन्छ । उहाँका दुवै हात र दुवै खुट्टा छैनन् । उहाँले हात छैनन्, खुट्टा छैनन्, चिन्ता छैन भन्ने पुस्तक लेख्नुभएको छ । उहाँले भन्नुभएको छ — यदि तपाईं एक हजार पटक प्रयास गर्दा पनि असफल हुनुभयो र प्रयास गर्न छाडिदिनुभयो भने एक हजार एकौं पटकमा प्राप्तहुन सक्ने सफलताको ढोकाबन्द हुन्छ । त्यसैले जीवनमा हरेस नखाई पटकपटक प्रयास गर्नेले सफलता प्राप्त गर्छ ।
प्यारा विद्यार्थीहरू, विद्यालय जेल होइन । विद्यालय त तपाईंको भविष्य कोर्ने साधन हो । कालोपाटीमा जब चकले लेखिन्छ तपाईंको सुन्दर भविष्यको नक्सा त्यहींबाट कोरिन्छ । तपाईं भोकाएको, तिर्खाएको, थाकेको हुन सक्नुहुन्छ । तपाईं भाई बहिनीलाई सघाउँदै गर्दा आफ्नो गृहकार्य बाँकी रहेर शिक्षकको सजायँ भोगेको हुनसक्छ । आफ्नो खुसी मेटाउँदै अरूका लागि दुःख गर्दै हुन सक्नुहुन्छ । तपाईंको घर, पैसा, कपडा, पकाएको खानासमेत अरूलाई बाँड्नुपर्छ । तर शिक्षामात्र एउटा वस्तु हो जुन सिकेपछि सँधै दिमागमा बसिरहन्छ । कसैले अंश लगाएर वा चोरेर लैजान सक्दैन ।
पढाइ एउटा बाध्यकारी, जबर्जस्ती र नचाहेको काम हुनसक्छ । शिक्षा पद्धति र विशेषगरी कक्षाशिक्षण दिक्कलाग्दो, हतोत्साही तुल्याउने र सफलता प्राप्त गर्ने आशा गर्न नसक्ने खालको छ । तापनि कक्षामा भाषा विषय पढ्दै गर्दा विचारहरू तर्क गर्ने, समालोचकीय ढंगले सोंच्ने, इतिहास पढ्दा हरेक दबिएका समूह कुनै कारणले जागेका हुन्छन् ।
यसरी पढ्नुको अर्थ विषयको ज्ञान प्राप्त गर्नु मात्र नभै जीवनसँग जोड्ने कला विकास गर्नुपर्छ । विज्ञानले परिवर्तन सम्भव छ भन्ने सिकाउँछ । उदाहरणका लागि वातावरणको दवावमा कार्वन हीरा बनेजस्तै मानिसको जीवनमा आइपर्ने समस्या या चुनौतिको सामना गर्ने क्रममा मानिसले विभिन्न सिप विकास गर्छ र अन्त्यमा सफल बन्न सक्छ । तर, सफलता एउटै प्रयासमा हुदैन । सानो तर नियमित परिवर्तन फलदायी हुन्छ । कसैको जीवनमा नाटकीय परिवर्तन आउँदैन ।
लगातार र दिक्कलाग्ने गरी लगातारको अभ्यासले नै परिवर्तन सम्भव हुन्छ । कुनै साथी बाहिर खेलिरहेको हाँसिरहेको समयमा भित्र बसेर गणितको गृहकार्य गर्नु वा आँखा रातो पारेर अबेर रातीसम्म पढिरहनु पक्कै पनि सजिलो कार्य होइन तर अनिवार्य हो । तपाईंको वास्तविक संघर्ष वा वीरता कुनै समस्याबाट भाग्ने समयमा पनि अविचलित भै अभ्यासमा लागिरहनु हो ।
आज एउटा फरक काम, एउटा अर्को समस्या, हरेक कक्षामा एउटा नयाँ प्रश्न, एउटा पुस्तकको एउटा नयाँ पाना, वा एउटा शिक्षकसँग एउटा कुराकानी गर्नुहोस् । सानो सफलताले आत्मविश्वास बढाउँछ । आत्मविश्वासले आत्मबल बढाउँछ । आत्मबल बढायो भने मात्र नयाँ जीवन प्राप्त हुन्छ ।
प्यारा विद्यार्थीहरू, साथी संगतका बारेमा जानकारी राख्नुपर्छ । साथीले घृणा गर्लान् । कोही तपाईंहरूसँग विमति राख्न सक्नुहुन्छ । कसैसँग पनि विवाद नगर्नु । उनीहरूलाई घृणा नगर्नु । तिनीहरूभन्दा आफूलाई अलि परिपक्क मान्नुहोस् । कहिलेकाहीं तपाईंका प्रश्न वा टिप्पणीलाई तपाईका शिक्षकले वास्ता गर्दैनन् । तपाईंलाई पढ्दै गरेको देखेर साथीहरूले मजाक गर्न सक्छन् ।
तपाईंलाई रिस उठ्नु स्वाभाविकै हो । तर रिसलाई नियन्त्रण गर्दै हासेर प्रतिक्रिया दिनुहोस् । रिसलाई अनुशासनमा बदल्नुहोस् । त्यसैगरी तपाईंलाई च्यातिएको जुत्ता वा अरू अभावका कारण लाज लाग्न सक्छ । बाबु आमाको गरिवी होस् वा पिछडिएको समाजका कारण लज्जित हुनुपर्छ । तर, तपाईं एउटा विद्यार्थी हो । एउटा सिकारु हो ।
भविष्यमा जब तपाईं बयस्क हुनुहुन्छ, गरिवी, अभाव र पछौटेपनको साङ्लो तोड्न सक्नुहुन्छ । हरेक समय जब तपाईं अध्ययन गर्नुहुन्छ, तपाईंले त्यो साङ्लो तोडिरहनुहुन्छ । कुनैपनि होहल्ला वा विवादमा तपाईं जंगिने होइन, शान्त बस्नोस् । तत्कालको क्षणिक भन्दा दीर्घकालीन बृद्धि विकासका लागि सोंच्नुहोस् । भविष्यका सन्ततिका लागि सोंच्नु नै वास्तविक अर्थमा सशक्तिकरण हो । तपाईंलाई कसैले स्याबासी वा प्रशंसा गरेको छैन भने पनि चिन्ता नलिनुहोस् ।
तपाईंले आँफैलाई बधाई दिनुहोस् । हरेस खानु हुदैन । आफूलाई बलियो बनाउनुहोस् । कुनै शिक्षक हुनुहुन्छ कि जो तपाईंका लागि ध्यान दिने ? कोही कर्मचारी वा सहयोगी हुनुहुन्छ कि तपाईंलाई सहयोग गर्ने ? कुनै साथीले तपाईंलाई मन पराउँछन् कि ? मन ब्यहोरा मिल्ने पनि साथीसँग सँगै बसेर अध्ययन गर्न तयार हुन्छ कि ? यदि कोही छैन भने तपाईं स्वयम् पहिलो ब्यक्ति बन्नुहोस् जो आँफैलाई सुन्छ वा सहयोग गर्छ । त्यसपछि अरू तपाईंका शिष्य हुन्छन् ।
आफू आदर्श अगुवा बन्नका लागि के गर्न सक्नुहुन्छ ? आज सुत्नुभन्दा अगाडि भोलि गर्ने नयाँ एउटा काम टिप्नुहोस् । हरेक दिन निरन्तर टिप्ने र भोलिपल्ट काम गरिछाड्ने गर्नुहोस् । परिवर्तन हुन्छ । अहिलेको परिस्थिति तपाईंको गल्तीका कारण भएको होइन तर तपाईंका कार्यहरू भने तपाईंका जिम्मेवारीभित्र पर्छन् ।
तपाई परिस्थितिको शिकार होइन । तपाईं नयाँ परिस्थितिको निर्माता हो । परिस्थिति बदल्ने कर्मको सुरू गर्नुहोस् । तपाईंलाई सिमित गर्ने हरेक बन्धन चुँडाल्दै सुन्दर भविष्य निर्माणका लागि तपाईंकापाइला अगाडि बढ्नुपर्छ । तपाईंका लागि शुभसाइत आजै छ । अविरल अठोटकासाथ अविराम यात्राका लागि शुभकामना ।