© 2026
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन रोक्न माग गर्दै दिएको निवेदन मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको छ।
आगामी असोजमा हुने तय भएको महाधिवेशन प्रक्रिया रोक्न आदेश माग गर्दै देउवा र खड्काले निवेदन दिएका हुन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार देउवा पक्षले दायर गरेको मुद्दामा मंगलबार पूरक निवेदन दर्ता भएको हो। उक्त निवेदनमाथि भदौ ११ गते सुनुवाइका लागि पेसी तोकिएको छ।
नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। सोही कार्यतालिका र महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा निवेदन परेको हो।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनः सुनुवाइ गर्न निस्सा अनुमति प्रदान गरिसकेको छ। उक्त विवादको अन्तिम टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि नबढाउन निवेदनमा माग गरिएको छ।