Butwal Today

रसुवामा बाढीले जलविद्युत् तथा प्रसारण संरचनामा क्षति, विद्युत् आपूर्ति प्रभावित

१० भाद्र २०८३, बुधबार
अ+
अ-

रसुवा ।

रसुवामा बुधबार आएको बाढीले नेपाल विद्युत् प्राधिकरणका विभिन्न जलविद्युत् गृह तथा प्रसारण संरचनामा क्षति पुर्‍याएको छ । बाढीका कारण रसुवा र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे र त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्र तथा त्रिशूली–३ ‘बी’ हबअन्तर्गतको २२० केभी सबस्टेसनमा क्षति पुगेको छ । यस्तै, त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रसहित विभिन्न वितरण संरचनासमेत प्रभावित भएका छन् ।

विद्युत् उत्पादन, प्रसारण तथा वितरणसँग सम्बन्धित संरचनामा क्षति पुगेपछि केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । विद्युत् आपूर्ति नियमित गर्न हरसम्भव प्रयास भइरहेको जनाउँदै प्राधिकरणले आपूर्ति सुचारु नहुँदासम्म धैर्य गर्न उपभोक्तालाई आग्रह गरेको छ ।

बाढीले विद्युत् संरचनासँगै घर, सडक, पुललगायतका भौतिक पूर्वाधारमा समेत उल्लेख्य क्षति पुर्‍याएको प्रारम्भिक जानकारी प्राप्त भएको प्राधिकरणले जनाएको छ। क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको छ ।

प्राधिकरणले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षलाई तत्काल प्रभावकारी रूपमा परिचालित हुन आग्रह गरेको छ ।

बाढीको जोखिम अझै कायम रहेकाले नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र अन्य जोखिमयुक्त स्थानमा रहेका सर्वसाधारण तथा प्राधिकरणका कर्मचारीलाई उच्च सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ । साथै, आधिकारिक सूचनाबाहेकका अपुष्ट समाचार तथा अफवाहमा विश्वास नगर्न प्राधिकरणले आग्रह गरेको छ ।

यसअघि पनि रसुवामा बाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा ठूलो क्षति पुगेको थियो । पछिल्लो बाढीले पुनः ऊर्जा पूर्वाधारमा असर पारेपछि विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित हुने जोखिम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?