© 2026
काठमान्डौँ ।
बाढीमा परी घाइते भएका २४ जनालाई उपचारका लागि रसुवा अस्पताल लगिएको छ । उपचारका क्रममा एक जना घाइतेको मृत्यु भएको छ ।
रसुवा अस्पतालका सूचना अधिकारी नरेन्द्र थापाका अनुसार बाढीमा परी घाइते भएका २४ जना उपचारका लागि अस्पताल आइपुगेका हुन् । उनले एक जना घाइतेको मृत्यु भएको पुष्टि गरे ।
थापाका अनुसार घाइतेमध्ये केहीलाई सामान्य चोटपटक लागेको छ भने ६ जना गम्भीर अवस्थाका छन् । गम्भीर अवस्थाका उनीहरूलाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गरिएको छ ।
‘गम्भीर प्रकृतिका ६ जना घाइतेलाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गरिएको छ । सामान्य अवस्थाका केही बिरामीलाई पनि आवश्यक उपचारपछि रेफर गरिएको छ,’ थापाले भने ।
बाढी प्रभावित क्षेत्रबाट घाइतेहरू आउने क्रम जारी रहेकाले अस्पतालले उपलब्ध जनशक्ति तथा स्रोतसाधन परिचालन गरी उपचार र उद्धारको काम गरिरहेको छ । हेलिकोप्टरमार्फत समेत घाइतेको उद्धार भइरहेको थापाले बताए ।
‘उताबाट केसहरू आउने क्रम जारी छ । अस्पतालले सक्ने जति उपचार गरिरहेको छ । थप उपचार आवश्यक पर्ने बिरामीलाई ट्रान्सफर तथा रेफर गरिरहेका छौँ,’ उनले भने ।
अस्पतालमा स्वास्थ्यकर्मीका साथै जनस्वास्थ्य कार्यालय, स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, नेपाली सेना र सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय परिचालन भएका छन् । उद्धार तथा उपचार व्यवस्थापनका लागि उपलब्ध जनशक्ति र स्रोतसाधनलाई एकीकृत रूपमा परिचालन गरिएको अस्पतालले जनाएको छ ।
प्रभावित क्षेत्रबाट थप घाइते आउन सक्ने भएकाले अस्पताललाई तयारी अवस्थामा राखिएको छ । आवश्यक परे थप बिरामीलाई तत्काल अन्य अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाइएको थापाले बताए ।