Butwal Today

लागू औषधसहित कपिलवस्तुमा ५ जना पक्राउ 

८ भाद्र २०८३, सोमबार
अ+
अ-

चन्द्रौटा । 

कपिलवस्तुमा लागू औषधसहित ५ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार आइतबार साँझ करिब ४ बजे कृष्णनगरबाट नेपाल हुँदै भारततर्फ जाँदै गरेका उनीहरूलाई चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो । प्रहरीले उनीहरूको साथबाट लागू औषधजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ ।

प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार दाङको राप्ती गाउँपालिका–३ की ३४ वर्षीया रतिमा रोकाको साथबाट चरेसजस्तो देखिने कालो गिलो पदार्थ ५ किलो ५१८ ग्राम बरामद भएको छ ।

त्यस्तै, कपिलवस्तुको विजयनगर गाउँपालिका–४ की ४५ वर्षीया फनिसरा सारू र ५६ वर्षीया नन्सरी घर्ती मगरको साथबाट अफिमजस्तो देखिने गिलो पदार्थ  ५ किलो २०६ ग्राम र ५ किलो १५८ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका–३ की ४३ वर्षीया विमला पुन र पर्साको ठोरी गाउँपालिका–२ घर भई हाल विजयनगर–४, ज्योतिनगर बस्ने ४८ वर्षीया चुमा लामिछाने पनि छन् । उनीहरूको साथबाट भने लागू औषध फेला नपरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?