Butwal Today

बागमती प्रदेशसभा बैठक अन्योलमा, मुख्यमन्त्री थापा मगरको विश्वासको मत मंगलबार

८ भाद्र २०८३, सोमबार
अ+
अ-

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने तयारी गरिरहेका बेला सत्ता गठबन्धनभित्रको आन्तरिक विवाद चर्किएपछि प्रदेशसभा बैठक अन्योलमा परेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा भित्र सरकारलाई समर्थन गर्ने विषयमा देखिएको विवाद तथा नेपाली कम्युनिस्ट पार्टी नेकपा भित्र मन्त्री छनोटलाई लिएर देखिएको असन्तुष्टिका कारण सोमबार बोलाइएको प्रदेशसभा बैठक पटक–पटक स्थगित भएको हो।

मुख्यमन्त्री थापा मगरले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने कार्यसूची रहेकाले दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो। निर्धारित समयमा बैठक बस्न नसकेपछि सचिवालयले साँझ ५ बजेका लागि समय तोकेको थियो। ५ बजे पनि बैठक बस्न नसकेपछि राति ८ बजेका लागि सारिएको थियो। तर राति ८ बजेको बैठकसमेत बस्न नसकेपछि प्रदेशसभा सचिवालयले विशेष कारण जनाउँदै बैठक मंगलबार अपराह्न ४ बजे बस्ने गरी पुनः समय निर्धारण गरेको छ।

बैठक प्रभावित हुनुको मुख्य कारण राप्रपाभित्र सरकारलाई समर्थन गर्ने विषयमा चर्किएको विवादलाई मानिएको छ। राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टी केन्द्रको निर्णयविपरीत एमालेका किरण थापा मगर नेतृत्वको सरकारलाई समर्थन गरेपछि विवाद बढेको हो।

राप्रपा केन्द्रले उद्धव थापालाई कारबाही गर्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरिसकेको छ। सरकारमा सहभागी राप्रपाका तीन मन्त्री राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई समेत पार्टी निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै निष्कासन गर्ने निर्णय गरिएको छ। यद्यपि उद्धव थापा पक्षले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।

बागमती प्रदेशसभामा राप्रपाका १२ सांसद छन्। उनीहरूको समर्थन वा अनुपस्थितिले मुख्यमन्त्रीको विश्वासको मतको अंकगणितमा निर्णायक प्रभाव पार्ने देखिन्छ।यता, नेकपा बागमती संसदीय दलले आफ्ना सांसदलाई मुख्यमन्त्री थापा मगरको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिइसकेको छ। पार्टीले सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन ह्विपसमेत जारी गरेको थियो।

एमाले, नेकपा र राप्रपाको समर्थनमा भदौ ४ गते मुख्यमन्त्री नियुक्त भएका थापा मगरका लागि विश्वासको मत लिन गठबन्धनभित्रको आन्तरिक विवाद मुख्य चुनौती बनेको छ। १०४ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। एमालेका २५ र नेकपाका २६ गरी गठबन्धनसँग ५१ सांसद छन्। त्यसैले राप्रपाका १२ सांसदको भूमिका निर्णायक देखिएको हो।

यसअघि राप्रपा केन्द्रले सरकारमा सहभागी नहुने तथा समर्थन नगर्ने निर्णय गरेको थियो। तर बागमती प्रदेश संसदीय दलले भने सरकारलाई समर्थन गर्ने निर्णय गरेपछि पार्टी केन्द्र र प्रदेश संसदीय दलबीचको विवाद सतहमा आएको हो।

सोमबार दिनभर सहमति जुट्न नसकेपछि प्रदेशसभा बैठक पटक–पटक सार्दै अन्ततः मंगलबार अपराह्न ४ बजेका लागि तोकिएको छ। अब मंगलबारसम्म राप्रपाभित्रको विवाद र नेकपाभित्र देखिएको असन्तुष्टि समाधान हुन्छ कि हुँदैन भन्ने विषयसँगै मुख्यमन्त्री थापा मगरले विश्वासको मत पाउने वा नपाउने विषयमा सबैको ध्यान केन्द्रित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?