Butwal Today

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा चिरञ्जीवी ओलीको फराकिलो जित

७ भाद्र २०८३, आइतबार
अ+
अ-

नेपालगञ्ज ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा चिरञ्जीवी ओली फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

शनिवार सम्पन्न निर्वाचनको मतगणना आइतबार बिहान सकिँदा ओलीले निकटतम प्रतिद्वन्द्वी ध्रुवप्रसाद दाहाललाई १ हजार १२ मतको फराकिलो अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन आयुक्त तीर्थराज ज्ञवालीका अनुसार ओलीले १ हजार ३ सय ८६ मत प्राप्त गर्दा दाहालले ३ सय ७४ मत प्राप्त गरे ।

त्यस्तै, महिला उपाध्यक्षमा रुपा ओझा (सानु) १ हजार १ सय ६६ मतसहित विजयी भएकी छन् । उनकी प्रतिद्वन्द्वी उमा ग्रान्डनले ५ सय ३ मत प्राप्त गरिन् ।

महासचिवमा विष्णु श्रेष्ठ १ हजार २ सय ८७ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी दीपेन्द्रकुमार जोशीले ४ सय ८ मत प्राप्त गरे । उपमहासचिवमा भने प्रदीप आचार्य झिनो मतान्तरले विजयी भएका छन् । आचार्यले ८ सय ६४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी शिवप्रसाद दाहालले ८ सय ४२ मत पाए ।

कोषाध्यक्षमा टीकामणि उपाध्याय ९ सय १७ मतसहित विजयी भएका छन । उनका प्रतिद्वन्द्वी सूर्य श्रेष्ठले ५ सय ९८ र नारायण प्रसाईंले १ सय ८३ मत प्राप्त गरे ।

दस जना कार्यसमिति सदस्यका लागि भएको निर्वाचनमा सन्तोषकुमार पौडेल सर्वाधिक १ हजार ४ सय ५६ मतसहित विजयी भए । त्यस्तै तोपबहादुर थापाले १ हजार ३ सय ५०, नन्दराम जैसीले १ हजार ३ सय ४९, शरदराज अधिकारीले १ हजार ३ सय ४५, नगेन्द्र शाहीले १ हजार २ सय ८६, आदित्य गुप्ताले १ हजार २ सय ४०, जहाँगिर मुसलमानले १ हजार १ सय ५२, शरदप्रसाद रिजालले १ हजार १ सय २८, सुरजबहादुर भण्डारीले १ हजार १ सय २६ र अतुलकुमार गुप्ताले १ हजार १ सय २३ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

यसअघि नै उद्योगतर्फको उपाध्यक्षमा कमलकुमार कार्की र वाणिज्यतर्फको उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ निर्विरोध निर्वाचित भइसकेका थिए । त्यस्तै एसोसिएट सदस्यमा राजीव तलंगा र अब्दुल वाहिद अन्सारी तथा सम्बद्ध सदस्यमा फणाधर भण्डारी र सुरेशजंग बञ्जारा पनि निर्विरोध निर्वाचित भएका थिए ।

अध्यक्षमा ओलीको फराकिलो जितसँगै नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयन भएको छ । नयाँ नेतृत्वले नेपालगञ्जको उद्योग, व्यापार तथा व्यावसायिक क्षेत्रका चुनौती समाधान गर्दै निजी क्षेत्रको हित र व्यावसायिक वातावरण सुधारमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?