© 2026
काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी खेलमा नेपाल ए ले नर्दन टेरिटोरीको एनटी स्ट्राइकलाई जितका लागि १२३ रनको लक्ष्य दिएको छ ।
पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२२ रनको योगफल बनायो । नेपालका लागि पवन सर्राफले सर्वाधिक ४१ रन बनाए । उनले ४९ बलमा तीन चौका र एक छक्काको सहयोगमा ४१ रन बनाए ।
त्यसैगरी, लोकेश बमले १३ बलमा एक चौका र एक छक्कासहित १६ रन बनाए भने नारायण जोशीले आठ बलमा एक चौका र एक छक्कासहित १५ रन जोडे । कप्तान अनिल साहले नौ बलमा एक चौका र एक छक्कासहित १४ तथा तृत राज दासले नौ बलमा दुई चौकासहित १३ रन बनाए ।
राशिद खानले १० तथा कुशल मल्लले नौ रन बनाए । नेपालका ओपनर कुशल भुर्तेल पाँच बल खेल्दै खाता खोल्न नपाई आउट भए । शाहब आलम र रिजान ढकाल शून्यमा अविजित रहे ।
यता, एनटी स्ट्राइकका लागि हमिस मार्टिनले चार ओभरमा १९ रन खर्चेर तीन विकेट लिए । त्यस्तै, टम मेन्जिज, साम बार्कर, विलियम ब्लेयर र डी’आर्सी सर्टले समान एक–एक विकेट लिए ।