© 2026
काठमाडौं । जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ। न्यायाधीश अच्युत कुइकेलको इजलासले श्रेष्ठले दायर गरेको निषेधाज्ञासम्बन्धी निवेदनको टुंगो नलागेसम्म उनलाई पक्राउ नगर्न जिल्ला प्रहरी परिसर ललितपुरका नाममा अन्तरिम आदेश दिएको हो।
अदालतले विपक्षी जिल्ला प्रहरी परिसर ललितपुरलाई लिखित जवाफ पेस गर्न १५ दिनको म्यादसमेत दिएको छ। श्रेष्ठविरुद्ध उपसभामुख रुवीकुमारी ठाकुरले जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा पक्राउ पर्ने सम्भावना रहेको भन्दै श्रेष्ठले अदालतमा निषेधाज्ञाको माग गर्दै निवेदन दिएका थिए। अदालतको अन्तरिम आदेशसँगै निषेधाज्ञासम्बन्धी निवेदनको अन्तिम टुंगो नलागेसम्म श्रेष्ठलाई पक्राउ गर्ने बाटो तत्काल रोकिएको छ।