© 2026
काठमान्डौँ ।
सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका घटनाबारे छानबिन गर्न गठित समितिले छानबिन सकेर प्रतिवेदन बुझाएको छ ।
देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा साउन १० गते हिन्दु र मुस्लिम समुदायबीच भएको झडपको असर मधेस प्रदेशमा समेत फैलिएको थियो ।
कप्तानगञ्जमा भएको झडपमा तीन जनाको मृत्यु भएको थियो। गोली लागेर कप्तानगञ्जका ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रवीन्द्र मेहताको मृत्यु भएको थियो ।
त्यस्तै, सिरहाको गोलबजारमा साउन १४ गते भएको प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो । सरकारले दुवै घटनाबारे छुट्टाछुट्टै समिति गठन गरी स्थलगत अध्ययन तथा छानबिन गरेको थियो ।
दुवै समितिले मंगलबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले बताए । उनका अनुसार प्रतिवेदनमा उल्लेखित निष्कर्ष र सिफारिस अध्ययनको क्रममा छन् ।
कप्तानगञ्ज घटनाबारे गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा गठित समितिले छानबिन गरेको थियो । यस्तै, सिरहाको गोलबजार घटनाबारे गृह मन्त्रालयका अर्का सहसचिव पुष्पराज शाहीको नेतृत्वमा गठित समितिले छानबिन गरी सिफारिससहितको प्रतिवेदन बुझाएको हो ।