Butwal Today

उर्लदो भेरीमा हाम फालेर युवाहरूले जोगाउँदै छन् पुर्खाको भेल खेल्ने परम्परा

२ भाद्र २०८३, मंगलवार
अ+
अ-

सल्यान । उर्लँदो भेरीमा हाम फाल्नु सामान्यतया निकै जोखिम मोल्नु हो । तर सल्यानका युवाहरूका लागि यही जोखिम वर्षौँ पुरानो परम्परा जोगाउने माध्यम बनेको छ ।

भाद्र सङ्क्रान्तिका दिन उनीहरू कम्मरमा सुकेको लौका, प्लाष्टिकका जर्किनलगायतका वस्तु बाँधेर उर्लँदो भेरीमा पस्छन् र करिब पाँच किलोमिटर नदीमै पौडिएर पार गर्छन् ।

पश्चिम सल्यानको वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ देवस्थल क्षेत्रमा सोमबार युवाहरूले साहसिक भेल खेल्ने पर्व मनाएका छन् । २० जना बढी युवाले भेरीको धमिलो भेलमा हाम फालेर भेल खेलेका हुन्  । स्थानीयका अनुसार यो कुनै खेल वा स्टन्ट नभई पुस्तौँदेखि चलिआएको मौलिक सांस्कृतिक परम्परा हो ।

खेतीपातीको काम सकेपछि बर्खाको हिलो मैलो पखाल्ने, भेरीमा डुबुल्की मार्दा पुण्य प्राप्त हुने र भाद्र संक्रान्तिलाई चाडपर्वको सुरुवातका रूपमा मनाउने विश्वाससँग यो परम्परा जोडिएको छ ।

सल्लीबजार निवासी गुञ्जमान बुढा आफू स्वयं पनि करिब १० वर्ष अघिसम्म भेल खेल्ने गर्थे । अहिले पनि युवाहरू देवस्थल क्षेत्रको पुलबाट भेरीमा पसेर अम्रा र ठिग्नी क्षेत्रमा निस्कने गरेको उनी बताउँछन् । “बर्खाको हिलो मैलो पखाल्न र भेरीमा डुबुल्की मार्दा पुण्य प्राप्ति हुने विश्वास छ । पुलबाट नदीमा पसेर करिब पाँच किलोमिटरसम्म भेल खेल्ने गरिन्छ,” उनले भने ।

यही दिन गाउँमा भुईँ छोड्ने सांस्कृतिक चलन समेत छ । पुरुषहरू भेरीको भेलमा पौडिएर भुईँ छोड्दा महिला तथा बालबालिकाहरू जङ्गल पुगेर पिङका लागि कैयार (बाबियो) काटेर ल्याउने गर्छन् ।

त्यसपछि गाउँका बुढापाका र युवाहरू मिलेर बाबियोबाट पिङ बाट्छन् । गाउँभरिका मानिसहरू पिङमा मच्चिँदै पर्व मनाउँछन् । मिठा परिकार बनाएर खाने र आफन्त तथा छिमेकीबिच खुसी साट्ने चलन पनि छ ।

तर भेरीको भेलसँगै जोडिएको यो मौलिक संस्कृति भने बिस्तारै कमजोर बन्दै गएको स्थानीयहरू बताउँछन् । केही वर्षअघिसम्म टाढाटाढाका गाउँबाट समेत मानिसहरू भेल खेल्ने हेर्न र सहभागी हुन भेरी किनारमा पुग्ने गरे पनि पछिल्लो समय युवाहरूको सहभागिता घट्दै गएको छ ।

आधुनिक जीवनशैली र जोखिमप्रतिको बढ्दो सचेतताका कारण साहसिक भेल खेल्ने परम्परा सीमित युवामा खुम्चिँदै गएको बुढापाकाहरूको भनाइ छ । यहाँका स्थानीयहरूका लागि भेरीमा हाम फाल्नु मनोरञ्जन मात्र नभएर पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको संस्कृति र आफ्नो पहिचानसँग जोडिएको परम्परा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?