Butwal Today

१० वर्षदेखि अलपत्र खानेपानी आयोजना

२ भाद्र २०८३, मंगलवार
अ+
अ-

बुटवल । बुटवल उपमहानगरपालिका–१७ रानीगञ्जमा स्थानीयलाई शुद्ध र नियमित खानेपानी उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको शान्तिदीप खानेपानी आयोजना एक दशक पुग्न लाग्दा पनि पूरा हुन सकेको छैन ।

आर्थिक वर्ष २०७४/७५ मा सुरु भएको आयोजना आधाभन्दा बढी काम बाँकी रहँदा अलपत्र परेको हो । समयमै आयोजना सम्पन्न हुन नसक्दा रानीगञ्ज क्षेत्रका सयौँ परिवारले सहज खानेपानीको सुविधा पाउन सकेका छैनन् ।

निर्माणाधीन पानी ट्याङ्की तथा अन्य संरचना लामो समयदेखि प्रयोगविहीन हुँदा संरक्षणको अभावमा जीर्ण बन्न थालेका छन् । वर्षौँअघि सरकारी लगानीमा सुरु भएको आयोजना अधुरै रहँदा लगानीको औचित्यमाथि समेत प्रश्न उठेको स्थानीयको भनाइ छ ।

खानेपानी आयोजना ल्याउने तर निर्माण पूरा नगरी अलपत्र छाड्ने प्रवृत्तिप्रति स्थानीय आक्रोशित छन् । स्थानीय एक उपभोक्ताले बजेट विनियोजनका नाममा हुने राजनीति र कार्यकर्ता खुसी पार्ने प्रवृत्तिका कारण विकास आयोजना प्रभावित हुन नहुने बताए । उनले वर्षौँदेखि अधुरो रहेको आयोजनालाई तत्काल पूरा गरी स्थानीयलाई खानेपानी उपलब्ध गराउन माग गरे ।

आयोजना अधुरो रहँदा निर्माण भइसकेका संरचनासमेत क्षति हुने जोखिम बढेको छ । स्थानीयले आवश्यक बजेट तत्काल व्यवस्थापन गरी निर्माण कार्यलाई पूर्णता दिन सम्बन्धित निकायसँग माग गरेका छन् ।

सम्बन्धित पक्षका अनुसार पछिल्लो समय खानेपानी आयोजनामा बजेट विनियोजन गर्दा सम्बन्धित संस्थाको स्वामित्वमा जग्गा हुनुपर्ने व्यवस्था लागू गरिएको छ । तर शान्तिदीप खानेपानी विकास, निर्माण तथा वातावरण सरसफाइ उपभोक्ता संस्थाले आयोजना सञ्चालनका लागि प्रयोग गरिरहेको जग्गा बुटवल औद्योगिक क्षेत्रको नाममा रहेको बताइएको छ । यही कारण पछिल्ला वर्षमा आयोजनाका लागि बजेट विनियोजन हुन नसकेको स्थानीयको भनाइ छ ।

तर संस्थाका अध्यक्ष गोपाल श्रेष्ठले लगातार दुई आर्थिक वर्षदेखि आवश्यक बजेट नपाउँदा निर्माण कार्य रोकिएको बताए । उनका अनुसार आयोजना निर्माणका लागि बजेट माग गर्दै सम्बन्धित निकायमा पहल गरिए पनि रकम विनियोजन नहुँदा काम अघि बढाउन नसकिएको हो ।

शान्तिदीप खानेपानी संस्थाले कार्यालय भवन, कम्पाउन्ड वाल, प्रवेशद्वार, पानी ट्याङ्की तथा अन्य आवश्यक पूर्वाधार निर्माणका लागि सात करोड छ लाख २१ हजार रूपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो । तर हालसम्म दुई करोड ७५ लाख रूपैयाँ मात्र खर्च भएको अध्यक्ष श्रेष्ठले बताए । बाँकी कामका लागि प्रदेश सरकारले बजेट विनियोजन नगर्दा आयोजना अलपत्र परेको उनको भनाइ छ ।

खानेपानी तथा सरसफाइ कार्यालय रुपन्देहीका प्रमुख प्रकाश केसीले आयोजना लामो समयदेखि अधुरो रहेको विषयमा सम्बन्धित निकायबिच समन्वय आवश्यक रहेको बताए । आयोजना पूरा गर्न आवश्यक प्रक्रिया र बजेट व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

स्थानीयका अनुसार आयोजना सुरु भएको करिब एक दशक पुग्न लाग्दा पनि खानेपानीको समस्या समाधान हुन नसक्नु दुःखद हो । निर्माणमा भएको खर्चबाट संरचना तयार भए पनि आयोजना सञ्चालनमा नआउँदा त्यसको प्रत्यक्ष लाभ स्थानीयले पाउन सकेका छैनन् । अधुरा संरचना थप जीर्ण हुनुअघि नै सम्बन्धित निकायले आवश्यक बजेट व्यवस्थापन गरी आयोजना सम्पन्न गर्नुपर्ने स्थानीयको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?