© 2026
काठमान्डौँ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, एप्लिकेसन, सफ्टवेयर तथा सामाजिक सञ्जाललगायत विद्युतीय माध्यमबाट वस्तु तथा सेवाको व्यापार (ई–कमर्स) गर्ने व्यवसायीलाई अनिवार्य रूपमा सूचीकृत हुन निर्देशन दिएको छ ।
विभागले जरुरी सूचना जारी गर्दै सबै विद्युतीय व्यापार (ई–कमर्स) गर्ने व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुन निर्देशन दिएको हो ।
पछिल्लो समय विद्युतीय माध्यम तथा डिजिटल भुक्तानी प्रणालीको प्रयोग गरी उपभोक्तालाई भ्रममा पार्ने, ठगी गर्ने तथा गुणस्तरहीन वस्तु तथा सेवा बिक्री–वितरण गर्ने जस्ता गुनासो बढ्दै गएपछि विभागले विद्युतीय व्यापारको नियमनमा कडाइ गरेको हो ।
विभागले ‘विद्युतीय व्यापार (ई–कमर्स) ऐन, २०८१’ र ‘विद्युतीय व्यापार (ई–कमर्स) निर्देशिका, २०८२’ कार्यान्वयनमा आइसकेको जनाएको छ । ऐनको दफा ४ बमोजिम व्यवसाय सञ्चालन गर्नुअघि विद्युतीय प्लेटफर्म स्थापना गर्नुपर्ने तथा दफा ५ बमोजिम विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकरण हुनुपर्ने कानुनी व्यवस्था रहेको विभागले जनाएको छ ।
विभागका अनुसार कम्प्युटर, मोबाइल वा यस्तै विद्युतीय उपकरणको प्रयोग गरी वेबसाइट, एप्लिकेसन, सफ्टवेयर, इन्टरनेट तथा सामाजिक सञ्जालका मार्केटप्लेसलगायत माध्यमबाट सूचना सङ्कलन, सम्प्रेषण तथा वस्तु तथा सेवाको कारोबार गर्ने कार्य ई–कमर्सअन्तर्गत पर्दछ । यसअन्तर्गत दैनिक उपभोग्य वस्तुदेखि शिक्षा, स्वास्थ्य, यातायात, पर्यटन, बैंकिङ, बिमा तथा मर्मतसम्भारलगायत सम्पूर्ण वस्तु तथा सेवाको कारोबार समेटिन्छ ।
विभागले तोकिएको प्रक्रिया पूरा गरी सूचीकृत भएर तथा प्रचलित कानुनको पूर्ण पालना गरेर मात्र व्यवसाय सञ्चालन गर्न सम्बन्धित व्यवसायीलाई आग्रह गरेको छ ।
सूचनाको बेवास्ता गरी सूचीकृत नभएका वा गैरकानुनी विद्युतीय प्लेटफर्ममार्फत व्यवसाय सञ्चालन गरेको पाइएमा ‘विद्युतीय व्यापार (ई–कमर्स) ऐन, २०८१’ तथा अन्य प्रचलित कानुनबमोजिम कडा कानुनी कारबाही गरिने चेतावनी विभागले दिएको छ ।
उपभोक्ताले यससम्बन्धी कुनै गुनासो भएमा विभागको इमेल [email protected] मार्फत सम्पर्क गर्न सक्नेछन् । साथै, यससम्बन्धी थप जानकारी विभागको वेबसाइटबाट प्राप्त गर्न सकिने विभागले जनाएको छ ।
