© 2026
काठमान्डौँ ।
सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई अब हरेक १५ दिनमा तलब भुक्तानी गर्ने भएको छ । महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तिभरण व्यवस्थापन कार्यालय तथा कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्राचार गर्दै सो व्यवस्थाबारे जानकारी गराएको हो ।
अर्थ मन्त्रालयले गत वैशाखमा संघीय सरकारअन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने निर्णय गरेको थियो । तर, आवश्यक प्रणाली विकास नभएका कारण उक्त निर्णय कार्यान्वयनमा आउन सकेको थिएन ।
महालेखा नियन्त्रक कार्यालयले सोमबार निर्णय गर्दै अब प्रत्येक महिनाको १५ दिन पूरा भएपछि अर्धमासिक रूपमा तलब तथा भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) हरूलाई आफ्नो कार्यक्षेत्रभित्रका संघीय निकायबाट अर्धमासिक रूपमा तलब तथा भत्ता भुक्तानीका लागि निकासा माग भएमा आवश्यक व्यवस्था मिलाउनसमेत भनेको छ ।
सरकारले यस व्यवस्थाको सुरुवात अर्थ मन्त्रालयबाट गरेको थियो । चालु आर्थिक वर्षदेखि सबै संघीय निकायमा अर्धमासिक तलब भुक्तानी लागू गर्ने भनिए पनि प्रणाली विकासमा भएको ढिलाइका कारण कार्यान्वयन करिब एक महिना पछि धकेलिएको हो ।
