Butwal Today

मकैको डाँठबाट खुदो र गुड

२ भाद्र २०८३, मंगलवार
अ+
अ-

गुल्मी । उखुको रसबाट गुड र खुदो बन्छ भन्ने कुरा सबैलाई थाहा छ । तर उखुको विकल्पमा हरिया मकैको डाँठबाट पनि उखुको जस्तै गुड र खुदो बन्छ भनेको सुन्दा धेरैलाई पत्यार नलाग्न पनि सक्छ । तर गुल्मीमा भने कमैको डाँठबाट खुदो र गुड बनाइएको छ ।

गुल्मीको रेसुङ्गा नगरपालिकामा पहिलो पटक मकैको डाँठबाट रस निकालेर खुदो र गुँड बनाउने प्रविधिको परीक्षण गरेको छ । नगरपालिकाको वडा नम्बर–३ स्थित भाँडागाउँमा आईएएएस संस्थाको सहजीकरणमा स्थानीय जातको मकै र सिपी मकैको डाँठ प्रयोग गरी रस निकालेर गुड/खुदो उत्पादन गरिएको हो ।परीक्षणका क्रममा मकैको डाँठबाट निकालिएको रसबाट तयार गरिएको खुदो उखुको खुदो जस्तै देखिने र खाँदा पनि स्वादिष्ट रहेको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए ।

यसको खाद्य परीक्षणका लागि खाद्य विभाग अन्तर्गत प्रयोगशालामा पठाई सकिएको नगरपालिकाले जनाएको छ ।
उक्त प्रयोगशालाको परीक्षणबाट खानाका लागि उपयुक्त छ भन्ने सकारात्मक नतिजा आएमा मकैको डाँठबाट खुदो र गँुडको उत्पादनलाई व्यावसायिक रूपमा अगाडि बढाइने नगर प्रमुख पन्थीले बताए ।

उनले अहिले यसको प्रारम्भिक रूपमा परीक्षण मात्रै गरिएको बताउँदै आफूहरू प्रयोगशालाको रिपोर्टको प्रतीक्षामा रहेको बताएका छन् । नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा नवप्रवर्तन तथा उद्यमशीलता कार्यक्रम अन्तर्गत यस्ता प्रकारका कार्यक्रमहरूलाई अघि बढाउन लागिएको हो ।

“ल्याब परीक्षणबाट गुणस्तरीय छ भन्ने जानकारी आएपछि यसलाई व्यावसायिक रूपमा अगाडि बढाउका लागि नगरबाट आवश्यक मेसिन उपलब्ध गराउँछौँ,” नगरप्रमुख पन्थीले भने । कृषि तथा सम्बन्धित विषयका विद्यार्थीहरूको अन्तर्राष्ट्रिय संस्था अन्तर्गत भैरहवा शाखाका स्थानीय विद्यार्थीहरूको सहयोग तथा समन्वयमा मकैको डाँठबाट कम चिनी भएको गुड/खुदो उत्पादनको सफल परीक्षण गरिएको आईएएएस परियोजनाकी उपाध्यक्ष निर्मला सुवेदीले बताएकी छन् ।

गाउँघरमा मकै पाकेपछि त्यत्तिकै खेर गइरहेका डाँठलाई उपयोग गरेर आम्दानीको स्रोत बनाउनका लागि यो प्रविधि निकै उपयोगी हुने रेसुङ्गा नगरपालिका–३ का वडाध्यक्ष बाबुराम खत्रीले बताएका छन् । आफ्नै आँखा अगाडि मकैको डाँठलाई पेलेर निकालेको रसबाट यसरी खुदो र गुँड उत्पादन भएको देखेपछि स्थानीयहरू पनि यति बेला दङ्ग परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?