Butwal Today

लुम्बिनीमा मुख्यमन्त्री आचार्यद्वारा विश्वासको मत माग्दै

१ भाद्र २०८३, सोमबार
अ+
अ-

दाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत माग्दै प्रदेशको विकास, समृद्धि र राजनीतिक स्थायित्वका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताएका छन्।

सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर प्रदेशको हितमा निर्णय गर्न सांसदहरूलाई आग्रह गरे।उनले कांग्रेससँगको सहकार्यमा दुई वर्ष पाँच दिन सरकार सञ्चालन गरेको उल्लेख गर्दै लुम्बिनीको उन्नति र समृद्धिका लागि एउटै सोच र उद्देश्यका साथ अघि बढेको बताए। कांग्रेसले साउन १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संयुक्त सरकारलाई निरन्तरता दिने विषयमा विभिन्न प्रयास गरिएको उनले जानकारी दिए।

विश्वासको मत माग्दै उनले सत्तापक्षसँगै प्रतिपक्षमा रहेका दलका सांसदहरूलाई समेत समर्थन गर्न आग्रह गरे। विश्वासको मत दिएर पनि विपक्षी बेञ्चमा बसेर संसदीय परम्परा कायम गर्न सकिने उनको भनाइ थियो। ‘लुम्बिनीबाट नयाँ सन्देश दिनुपर्छ । विकास र समृद्धिका लागि हामी सबै एक ठाउँमा उभिनुपर्छ,’ मुख्यमन्त्री आचार्यले भने।

उनले रोल्पामा साउन २७ देखि ३१ गतेसम्मको अविरल वर्षाका कारण पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारको राहत र पुनर्स्थापनामा प्रदेश सरकारले कुनै कमी हुन नदिने बताए।त्यस्तै, अवरुद्ध सडक सञ्चालन, पुल तथा अन्य पूर्वाधारको संरक्षण र प्रभावित क्षेत्रको पुनर्स्थापनाको काम अघि बढिरहेको उनले जानकारी दिए। पश्चिम नवलपरासीको सुस्तामा भइरहेको नदी कटान नियन्त्रणका लागि पनि प्रदेश सरकार सक्रिय रहेको उनले बताए।

मुख्यमन्त्री आचार्यले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षणका लागि सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?