Butwal Today

गृहमन्त्री गुरुङसँग मतदाताको प्रश्न– चुनावी वाचा खोइ ? जवाफमा भने– भोट फिर्ता लैजानोस्

१ भाद्र २०८३, सोमबार
अ+
अ-

काठमान्डौँ ।

गृहमन्त्री सुधन गुरुङसँग गोरखाको शहीद लखन गाउँपालिका–९ का स्थानीयवासीले चुनावका क्रममा गरेका प्रतिबद्धता पूरा गर्न माग गरेका छन् ।

गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा–१ बाट निर्वाचित गुरुङसँग स्थानीयले आफूले चुनावका बेला गरेका वाचा पूरा गर्न माग गरेका हुन् ।

मतदातासँगको अन्तर्क्रियाका क्रममा एक स्थानीयले चुनावका बेला बोलेका कुरा सम्झाउँदै त्यसका लागि बजेट खोइ भन्दै प्रश्न गरेका थिए । जवाफमा गुरुङले साना–साना बजेट सबै समेट्दा बजेटको किताब नै ‘महाभारत’ बन्ने बताएका छन् ।

उनले बजेटका लागि स्थानीय तहबाट योजनाको सूची माग गरिएको र सोहीअनुसार काम भइरहेको स्पष्टीकरण दिएका थिए ।

यद्यपि, स्थानीयको प्रश्नको जवाफ दिने क्रममा ‘चार महिनामा कायापलट गर्न नसकिने’ भन्दै दिएको उनको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

गुरुङले आफूलाई पाँच वर्ष काम गर्न दिन आग्रह गर्दै तत्कालै काम गर्न नसके ‘भोट फिर्ता लिएर जान’समेत भनेका छन् ।

उनले भनेका छन्, ‘चार महिनामा बल्ल पहिलो बजेट आएको छ। चार महिनामा कायापलट गर्न सकिँदैन, भोट फिर्ता लिएर जानोस् । होइन भने मलाई पाँच वर्ष काम गर्न दिनोस् ।’

चुनावका बेला आफूले मतदातालाई विश्वास गर्न नसक्ने भए नजिताउन आग्रह गरेको स्मरण गराउँदै उनले आफूले ‘आँट’ गरेर चुनाव लडेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?