Butwal Today

ट्रंकलाइनको महसुल उठाउन कुलमानले थाले देशव्यापी हस्ताक्षर अभियान

१ भाद्र २०८३, सोमबार
अ+
अ-

काठमान्डौँ ।

विद्युत्मा लगाइएको कर हटाउन तथा डेडिकेटेड र ट्रंक लाइनको लामो समयदेखिको बक्यौता रकम असुल गर्न दबाब दिने उद्देश्यले उज्यालो नेपाल पार्टीले देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टी अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा भदौ १ गतेदेखि २४ गतेसम्म अभियान सञ्चालन गर्न लागिएको हो । ‘तपाईंको हस्ताक्षर, तपाईंको आवाज’ नारासहित हुने अभियानको उद्घाटन जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले गर्ने कार्यक्रम तय भएको पार्टीले जनाएको छ ।

अभियानको औपचारिक सुरुवात भदौ १ गते बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलाबाट गरिनेछ ।

उज्यालो नेपाल पार्टीको भ्रातृ संगठन युवा तथा खेलकुद महासंघको संयोजनमा हुने अभियानमार्फत सरकारले विद्युत् महसुलबापत उठाउनुपर्ने अर्बौं रुपैयाँको बक्यौता असुल गर्न तथा सर्वसाधारणलाई मार पर्ने गरी विद्युत्मा लगाइएको कर हटाउन दबाब दिने लक्ष्य राखिएको छ ।

पछिल्लो समय डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद चर्चामा रहेका बेला पार्टीले सुरु गर्न लागेको यो अभियानलाई राजनीतिक दबाबका रूपमा हेरिएको छ । अभियान अवधिमा संकलन गरिएका हस्ताक्षर सरकारलाई बुझाएर आफ्ना माग पूरा गर्न थप दबाब दिने पार्टीको योजना छ ।

सुशासन, समृद्धि र सामाजिक न्यायलाई मुख्य एजेन्डा बनाएको उज्यालो नेपाल पार्टीले अभियानमार्फत विद्युत् सम्बन्धी विषयमा आम नागरिकको समर्थन जुटाउने अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?