© 2026
बुटवल ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले पछिल्लो २४ घण्टाको ट्राफिक गतिविधि तथा सवारी दुर्घटनासम्बन्धी विवरण सार्वजनिक गरेको छ ।
कार्यालयका अनुसार लुम्बिनी प्रदेशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा २७ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा २ चौपायाको मृत्यु भएको छ भने १ चौपाया घाइते भएको छ । दुर्घटनामा २८ जना मानिस घाइते भएका छन् । घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको कार्यालयले जनाएको छ ।
त्यस्तै, ट्राफिक नियम उल्लङ्घन गर्ने १ सय ९४ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ । कारबाहीबाट २ लाख ३५ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ४५ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । ती कार्यक्रमबाट १ हजार ८०१ जना लाभान्वित भएका छन् ।
सचेतनामूलक कार्यक्रममा चालक तथा सर्वसाधारणलाई सुरक्षित सवारी सञ्चालन, ट्राफिक नियमको पालना, सिटबेल्ट तथा हेल्मेटको अनिवार्य प्रयोग, मादक पदार्थ सेवन गरी सवारी नचलाउनेलगायत वर्षा याममा अपनाउनुपर्ने सडक सुरक्षा सावधानीबारे जानकारी गराइएको कार्यालयले जनाएको छ ।
कार्यालयले सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात व्यवस्थापनका लागि ट्राफिक नियमको पूर्ण पालना गर्न चालक तथा सर्वसाधारणलाई आग्रह गरेको छ ।