© 2026
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा पहिलो पटक आयोजना गरिएको दुई दिने ‘नमूना संसद अभ्यास २०८३ आईतबार एक समारोहका बिच सम्पन्न भएको छ। कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य संघीय सांसद विक्रम खनालले देशको समृद्धिका लागि युवाहरूलाई नीति निर्माण र लोकतान्त्रिक अभ्यासमा जोड्नु अपरिहार्य रहेको बताए। नयाँ पुस्तामा राजनीतिक चेतना र कानुन निर्माणको ज्ञान हुनु लोकतन्त्रको सुदृढीकरणका लागि अत्यन्तै खुसीको कुरा हो,ू सांसद खनालले भने, युवाहरूले देखाएको यो उत्साह र अभ्यासको अनुभवले आगामी दिनमा मुलुकलाई योग्य, सचेत र जिम्मेवार नेतृत्व प्रदान गर्न महत्त्वपूर्ण योगदान पुर्याउनेछ।
समापन समारोहमा बोल्दै पूर्वमन्त्री घनश्याम यादव, संविधान सभा सदस्य सिन्धु जलेसा र पूर्व सांसद सरिता भुसालले युवाहरूलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी व्यावहारिक कानुन निर्माणको प्रक्रिया सिकाउने यो अभ्यास ऐतिहासिक र अनुकरणीय रहेको धारणा राखे । त्यस्तै, बर्दघाट नगरपालिकाका पूर्व नगर प्रमुख धीरज शर्मा बस्याल , राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा नवलपरासीका सभापति रवि पाण्डेय र नेपाली कांग्रेसका जिल्ला सभापति विक्रम प्रसाद यादवले राजनीतिप्रति युवापुस्तामा बढेको वितृष्णा चिर्न र सकारात्मक नागरिक चेतना अभिवृद्धि गर्न यस्ता रचनात्मक अभ्यासहरूले ठूलो सहयोग पुर्याउने उल्लेख गरे ।
आयोजक संस्था एजुकेट इनिसिएटिभ नेपालका अध्यक्ष सुलभ खनालले शिक्षालाई किताबी ज्ञानभन्दा माथि उठाएर नागरिक चेतना र व्यावहारिक अभ्याससँग जोड्ने लक्ष्यका साथ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताए। बर्दघाट युथ सर्कलका अध्यक्ष प्रसान्त गिरी र मुख्य सल्लाहकार किशोर गैरेले जिल्लाकै इतिहासमा पहिलो पटक आयोजना गरिएको यो अभ्यासले युवाहरूमा कानुन निर्माण, संसदीय मर्यादा र लोकतान्त्रिक मूल्यमान्यताबारे स्पष्ट र गहिरो बुझाइ निर्माण गरेको बताए। उनिहररूले आगामी दिनमा पनि युवा सशक्तिकरणका यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।
दुई दिनसम्म चलेको उक्त अभ्यासमा विभिन्न विद्यालय, कलेज तथा सामाजिक क्षेत्रमा क्रियाशील ७० भन्दा बढी युवाहरूले प्रत्यक्ष रूपमा ुसांसदुको भूमिका निर्वाह गर्दै संसदीय बहस, विधेयक प्रस्तुति र कानुन निर्माणको व्यावहारिक प्रक्रिया पूरा गरेका थिए।