Butwal Today

पहिरोले पुरिएको कोटेलबाराः गाउँभरि त्रास

२९ श्रावण २०८३, शुक्रबार
अ+
अ-

रोल्पा । बुधबार राति करिब साढे ९ बजेतिर थबाङ गाउँपालिका–५ कोटेलबारा उवावेसीमा पहाड गर्जिएजस्तो आवाज आयो ।

केही क्षणमै माथिबाट आएको लेदो, ढुङ्गा र माटोको भेल बस्तीमाथि खस्यो । घरभित्र रहेका मानिसलाई सम्हालिनसमेत समय मिलेन । बस्तीका घर, गोठ, घुम्ती पसल र चर्च पहिरोले पुरिए ।

करिब एक हजार तीन सय मिटर माथिबाट खसेको पहिरोले उवावेसी बस्तीलाई एकैछिनमा अस्तव्यस्त बनायो । बिहान उज्यालो हुँदा मात्रै बस्तीले भोगेको क्षतिको भयावह चित्र देखियो । घरहरू देखिएनन्, गोठहरू पुरिएका थिए र आफन्तको खोजीमा स्थानीयवासी पहिरोको लेदो पन्छाउँदै थिए ।

अविरल वर्षापछि आएको उक्त पहिरोमा परी पुरिएका मध्ये पाँच जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । दुई जना गम्भीर घाइते छन् भने अझै केही व्यक्ति बेपत्ता रहेको स्थानीय प्रशासनले जनाएको छ । पहिरोले नौ घर, एउटा घुम्ती पसल, एउटा चर्च र दुई गोठ गरी १३ वटा भौतिक संरचनामा क्षति पु¥याएको नेपाली सेनाले जनाएको छ ।

मृत्यु हुनेमा १८ वर्षीया शान्ति पुन मगर, ६५ वर्षीय कमलबहादुर पुन मगर, ४० वर्षीया जुनकुमारी पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर रहेका छन् । नौ वर्षीय अशिम पुन मगर, छ वर्षीय अशोक पुन मगरसहित केही बेपत्ता छन् ।

पहिरोमा परी थबाङ–५ का करिब २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन् । स्थानीय स्वास्थ्य चौकी थबाङमा प्रारम्भिक उपचारपछि दुवैलाई थप उपचारका लागि बुटवल पठाइएको छ । पहिरो ठुलो भएकाले त्यसले पुरिएका मानिस र संरचना छुटाउनसमेत कठिन भएको छ । पहिरोमाथिबाट लगातार लेदो, ढुङ्गा र माटो खसिरहेकाले उद्धार टोलीले जोखिम मोलेर काम गर्नुपरेको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार पहिरोका कारण खोज तथा उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ । केही शव क्षतविक्षत अवस्थामा भेटिएकाले पहिचान गर्नसमेत कठिन भएको उनले बताए । “पहिरो निकै ठुलो छ । माथिबाट अझै लेदो, ढुङ्गा र माटो आउने क्रम रोकिएको छैन । पानी परिरहेकाले उद्धारमा उच्च जोखिम छ,” उनले भने ।

घटनास्थलमा बाक्लो हुस्सु लाग्नुका साथै लगातार पानी परिरहेका कारण सुरक्षाकर्मीलाई पहिरोभित्र खोजी गर्न कठिनाइ भएको छ । उद्धारमा खटिएका सुरक्षाकर्मी र स्थानीयवासी आफैँ पनि पहिरो तथा खोलाको जोखिममा छन् ।

बेपत्ता व्यक्तिको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । स्थानीयवासी पनि सुरक्षाकर्मीसँगै खोजीमा जुटेका छन्। नेपाली सेनाका अनुसार करिब ३५ जना स्थानीयवासी उद्धार कार्यमा सहभागी भएका छन् ।

थबाङको भौगोलिक अवस्था नै यहाँको अर्को चुनौती हो । बस्तीहरू छरिएका छन् । जमिन भिरालो छ । वर्षातमा ठाडा खोला र खोल्सामा पानीको बहाव अचानक बढ्छ । यही भूगोलका कारण एउटा ठाउँमा विपद् हुँदा अर्को ठाउँबाट तत्काल उद्धार टोली पुग्न पनि समय लाग्ने गरेको छ ।

थबाङ गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगरका अनुसार गाउँपालिकाको भूगोल ठुलो र बस्तीहरू छरिएर रहेकाले विपत्को समयमा तत्काल उद्धार तथा राहत पु¥याउन कठिन हुन्छ । “थबाङका धेरै बस्ती भिरालो भूभागमा छन् । वर्षाका बेला गोठ तथा अस्थायी संरचनामा बस्नुपर्ने अवस्था पनि हुन्छ । त्यसले जोखिम झन् बढाएको छ,” उनले भने ।

उनका अनुसार विपद्को समयमा तत्काल सूचना आदानप्रदान गर्नसमेत समस्या हुने गरेको छ । प्रभावित क्षेत्रमा सञ्चारको पर्याप्त सुविधा नहुँदा घटना भएको सूचना सम्बन्धित निकायसम्म समयमै पु¥याउन कठिन भएको उनले बताए ।

घटनास्थलसम्म पुग्ने बाटोमा समेत ठाउँ–ठाउँमा पहिरो खसेकाले उद्धार टोलीको आवतजावत प्रभावित भएको छ । खोलाको बहाव बढेकाले सुरक्षित रूपमा घटनास्थलसम्म पुग्न सुरक्षाकर्मीलाई समेत समस्या भएको छ ।

पहिरोको खबर पाएलगत्तै तीनवटै सुरक्षा निकाय घटनास्थलमा पुगेका थिए । रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोज तथा उद्धारमा खटिएको छ ।

नेपाली सेनाको सूर्यदल गण रोल्पाबाट गणपति प्रमुख सेनानी दिपेश खड्काको कमान्डमा मेडिकल टोलीसहितको उद्धार टोली परिचालन गरिएको छ । टोलीले पुरिएका संरचना र सम्भावित स्थानमा खोजी गर्नुका साथै घाइतेको उद्धार र उपचारमा सहयोग गरेको छ ।

प्रतिकूल मौसमका कारण उद्धारमा कठिनाइ भए पनि खोजी कार्यमा ढिलाइ नगरिएको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए ।
“मौसम प्रतिकूल छ । भूगोल पनि निकै कठिन छ । तर सुरक्षा निकाय, स्थानीय तह र स्थानीयवासीको समन्वयमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ,” उनले भने ।

पहिरोपछि माडी र लुङ्ग्री खोलामा आएको बाढीले मानिस तथा अन्य वस्तु बगाएर प्यूठानतर्फ पु¥याएको हुन सक्ने आशङ्कामा त्यहाँ पनि खोजी तीव्र पारिएको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिकाका विभिन्न स्थानमा पाँच जनाको शव फेला परेको जानकारी प्रहरीले दिएको छ । ती शवको पहिचान हुन बाँकी छ । रोल्पाको पहिरोमा बेपत्ता भएका व्यक्तिसँग ती शवको सम्बन्ध छ कि छैन भन्नेबारे पनि अनुसन्धान भइरहेको छ ।

पहिरोपछि खोलामा आएको बाढी र पानीको बहावका कारण शव बगाएर टाढासम्म पु¥याएको हुन सक्ने भएकाले रोल्पादेखि प्यूठानसम्मका खोला किनारमा समेत खोजी भइरहेको सुरक्षा निकायले जनाएको छ ।

थबाङ गाउँपालिकाले जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने विषयमा पहल गरिरहेको जनाएको छ । तर, बस्ती छरिएको र भूगोल अत्यन्तै भिरालो भएकाले सबैलाई एकै ठाउँमा स्थानान्तरण गर्न सहज छैन ।

पछिल्लो घटनाले थबाङका जोखिमयुक्त बस्तीको पुनः पहिचान, सुरक्षित स्थानमा स्थानान्तरण र विपत् पूर्वतयारीको आवश्यकता थप उजागर गरेको छ । विशेषगरी सञ्चार सुविधा कमजोर भएका बस्तीमा विपद्को सूचना तत्काल पु¥याउने संयन्त्र आवश्यक देखिएको छ ।

स्थानीयवासीले पहिरो प्रभावित परिवारका लागि तत्काल राहत, सुरक्षित आवास र उपचारको व्यवस्था गर्न माग गरेका छन् । बेपत्ताको खोजीलाई तीव्रता दिन तथा घटनास्थलमा थप उद्धार र स्वास्थ्य टोली परिचालन गर्न उनीहरूले आग्रह गरेका छन् । कोटेलबारामा पहिरो खसेको केही समय बितिसक्दा पनि जोखिम घटेको छैन । आकाशमा बादल लागिरहेकै छ । वर्षा रोकिएको छैन । पहाडको भिरालो भागबाट माटो र ढुङ्गा खस्ने जोखिम कायमै छ ।

त्यसैले उद्धार टोलीले एउटा शव वा व्यक्तिको खोजी गर्दा पनि आफ्नो सुरक्षालाई ध्यानमा राख्नुपर्ने अवस्था छ । एकातिर आफन्त हराएका परिवारका सदस्य पहिरो पन्छाएर आफ्ना मान्छे खोजिरहेका छन् भने अर्कोतिर सुरक्षाकर्मी नयाँ पहिरो खस्न सक्ने जोखिमबीच खोजीमा जुटिरहेका छन् ।

स्थानीय प्रशासनले थबाङ–५ लगायत पहिरो तथा बाढीको जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । भिरालो जमिन, खोलानजिक र पहिरोको जोखिम भएका स्थानमा रहेका नागरिकलाई विशेष सतर्कता अपनाउन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?