Butwal Today

ग्यासका लागि दिनभर लाइन

२९ श्रावण २०८३, शुक्रबार
अ+
अ-

बुटवल । चर्को गर्मीमा घण्टौँ लाइन बसेर पनि खाना पकाउने ग्यास पाउन मुस्किल भएपछि बुटवलका उपभोक्ता हैरान भएका छन् । बजारमा दैनिक ठुलो सङ्ख्यामा ग्यासका सिलिन्डर वितरण भइरहेको दाबी गरिए पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेपछि अभावको कारणप्रति प्रश्न उठ्न थालेको छ ।

बिहीबार बिहानैदेखि बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पस अगाडि ग्यास लिन उपभोक्ताको लामो लाइन लागेको थियो । बिहान १० बजेदेखि ग्यास वितरण गर्ने सूचना पाएपछि उपभोक्ताहरू ६ बजेदेखि नै लाइन लागेका थिए ।

नेपाल आयल निगम लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालय भलवारी रुपन्देहीले विभिन्न कम्पनीका नौ सय सिलिन्डर ग्यास वितरण गर्ने भएपछि उपभोक्ता बिहानैदेखि लाइनमा बसेका हुन् ।

गर्मीको प्रवाह नगरी घण्टौँ लाइनमा बसेका कतिपय उपभोक्ताले लामो समय कुर्दा पनि सहज रूपमा ग्यास नपाउने अवस्था रहेको गुनासो गरेका थिए । खाना पकाउने अत्यावश्यक वस्तुका लागि पटक–पटक लाइन बस्नुपर्ने अवस्था आउनु दुःखद भएको उनीहरूको भनाइ थियो ।

आयल निगमले ज्येष्ठ नागरिक, महिला र विद्यार्थीलाई प्राथमिकता दिएर बिहीबार ग्यास वितरण गरेको थियो । त्रिशूल, सिद्धनाथ, बुटवल, सिद्धार्थ, लुम्बिनी, जानकीलगायत नौ कम्पनीका ग्यासका सिलिन्डर वितरण गरिएको थियो ।

यसअघि पनि बुटवलमा ग्यास अभाव भएको गुनासो आएपछि तीन दिनअघि नौ सय सिलिन्डर ग्यास वितरण गरिएको थियो । ग्यास डिलरमार्फत दैनिक सयौँ सिलिन्डर उपभोक्ताको घरसम्म पुगिरहेको व्यवसायीको भनाइ छ । त्यसका बाबजुद बजारमा अभावको अवस्था कायमै रहेको छ ।

ग्यासको सहज आपूर्ति हुन नसक्दा उपभोक्ताले अभावको डरले अतिरिक्त सिलिन्डर खोज्ने र घरमा मौज्दात राख्ने प्रवृत्तिसमेत बढेको व्यवसायी बताउँछन् । लुम्बिनी ग्यास बुटवलका डिलर व्यवसायी रामप्रसाद न्यौपानेले बजारमा दैनिक ग्यास आइरहे पनि उपभोक्ताले अभाव हुने डरले आवश्यकता भन्दा बढी सिलिन्डर मौज्दात राख्दा बजारमा अभाव देखिएको बताए ।

“दैनिक ग्यास वितरण भइरहेको छ । तर, अभाव हुन्छ कि भन्ने डरले कतिपय उपभोक्ताले एकभन्दा बढी सिलिन्डर राख्न खोज्दा माग एकै पटक बढेको छ,” उनले भने । ग्यास वितरणका क्रममा पनि बजारमा अभाव देखिएपछि उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीले व्यवसायी तथा बिक्रेतालाई कृत्रिम अभाव सिर्जना नगर्न र कालोबजारी रोक्न आग्रह गरेको छ ।

मञ्चले ग्यासको मौज्दात लुकाउने, आवश्यकताभन्दा कम परिमाणमा बिक्री गर्ने वा उपभोक्तालाई अनावश्यक दुःख दिने कार्य कानुन विपरीत हुने जनाएको छ । त्यस्ता गतिविधि भए तत्काल रोक्न र बजारमा सहज आपूर्ति सुनिश्चित गर्न मञ्चले सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले देशभर ग्यासको अभाव देखिएको अवस्थामा बजारमा हुने अस्वाभाविक गतिविधिको प्रभावकारी अनुगमन गर्नुपर्ने बताए ।

“ग्यासजस्तो अत्यावश्यक वस्तुको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मौज्दात लुकाउने वा बढी मूल्य लिने काम हुनु हुँदैन । त्यस्ता गतिविधि भए सम्बन्धित निकायले तत्काल अनुगमन गरेर दोषीमाथि कानुनअनुसार कारबाही गर्नुपर्छ,” उनले भने ।

उनले बजारमा ग्यासको वास्तविक मौज्दात, आयात, वितरण तथा बिक्रीको अवस्थाबारे सम्बन्धित निकायले नियमित अनुगमन गर्नुपर्नेमा जोड दिए । उपभोक्तालाई लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्न वितरण प्रणालीलाई व्यवस्थित बनाउनुपर्ने उनको भनाइ छ ।

मञ्चले उपभोक्तालाई पनि अभावको हल्लाका आधारमा आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह गरेको छ । कुनै व्यवसायीले तोकिएको मूल्यभन्दा बढी रकम लिएमा, ग्यास लुकाएमा वा कालोबजारी गरेको पाइएमा सम्बन्धित निकायमा उजुरी गर्न मञ्चले अनुरोध गरेको छ ।

उपभोक्ताको सहज आपूर्ति, उचित मूल्य र बजार अनुशासन कायम गर्नु सबै पक्षको साझा जिम्मेवारी भएको मञ्चले जनाएको छ । ग्यास व्यवसायीले पारदर्शी रूपमा कारोबार गर्नुपर्ने तथा सरकारी निकायले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमन गर्नुपर्नेमा जोड दिइएको छ ।

अध्यक्ष जिसीले बजारमा उपभोग्य वस्तुको सहज आपूर्ति तथा उपभोक्ताको अधिकार संरक्षणका लागि सरकारी निकाय, ग्यास उद्योग, डिलर, व्यवसायी र उपभोक्ताबिच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।

बुटवलमा अहिले ग्यासको अभाव हटाउन विभिन्न माध्यमबाट वितरण भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको अवस्था छ । एकातिर दैनिक रूपमा ठुलो परिमाणमा ग्यास वितरण भइरहेको छ भने अर्कोतिर उपभोक्ता घण्टौँ लाइनमा बस्न बाध्य छन् । यसले आपूर्ति पर्याप्त भए पनि वितरण प्रणाली, मौज्दात व्यवस्थापन र उपभोक्ताको मागबिच समन्वय हुन नसकेको देखाएको छ ।

ग्यास पाउन लामो समय लाइन बस्नुपर्ने बाध्यता हटाउन नियमित आपूर्तिसँगै वितरणको स्पष्ट व्यवस्था गर्नुपर्ने उपभोक्ताको माग छ । साथै, अभावको नाममा हुने कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न प्रभावकारी बजार अनुगमन आवश्यक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?