© 2026
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशाङ्क कोइरालाले नेपाली काँग्रेसका वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन् ।
बिहीबार देउवा स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुगेका कोइरालाले सभापतिको जिम्मेवारीका विषयमा कुनै कानुनी अड्चन वा अदालतको रोक्का आदेश (स्टे अर्डर) नरहेको भन्दै देउवा नै पार्टी सभापति रहेको बताएका हुन् ।
उनले देउवाकै नेतृत्वमा पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै पार्टीभित्रको आन्तरिक एकता कायम गर्नुपर्ने बताए । साथै, पार्टीबाट बाहिरिएका पक्षलाई पुनः मूलधारमा ल्याउनुपर्ने उनको भनाइ थियो ।
कोइरालाले पार्टीलाई एक ढिक्का बनाउने प्रयास निरन्तर जारी रहने बताए । संस्थापन समूह र गगनकुमार थापा नेतृत्वको पक्षप्रति लक्षित गर्दै उनले ‘सानेपा काँग्रेस’ छुट्टिएर गएको टिप्पणी गरे ।
विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डा। कोइरालाले भने, ‘सानेपा काँग्रेस छुट्टिएर गएको छ, उनीहरू आउनुपर्ने हो । उनीहरूले अनादर गर्छन् वा के गर्छन्, त्यो उनीहरूको कुरा हो । तर अहिले पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नै हुन् ।’
पार्टीको एकता र कानुनी प्रक्रियाबारे उनले भने, ‘अदालतबाट कुनै स्टे अर्डर आएको छ र ? देउवा नै सभापति हुन् । पार्टीलाई एक ढिक्का बनाएर लैजाने हाम्रो प्रयास सधैँ रहन्छ ।’
उनले पार्टीभित्र देखिएको असन्तुष्टि संवादका माध्यमबाट समाधान गर्दै ढिलो चाँडो सबै पक्ष एक ठाउँमा आउनुको विकल्प नरहेको बताए । साथै, आन्तरिक मतभेदलाई अन्त्य गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।