Butwal Today

पत्रकार धरपकडबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न कांग्रेसको माग

१६ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

काठमान्डौँ ।

नेपाली कांग्रेस संसदीय दलले पत्रकार धरपकडलगायत सरकारका विवादित गतिविधिको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ ।

सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले पत्रकार पक्राउ तथा यससँग सम्बन्धित सरकारी गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न समिति गठन गर्नुपर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पत्रकार धरपकडलगायतका घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

उनले भने, ‘नेपाली कांग्रेस पत्रकार धरपकडलगायत यससँग जोडिएका सरकारी सबै विवादित गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्दछ । दोषीलाई कानुनी कारबाही गर्नुपर्दछ । यसका लागि संसदीय विशेष समिति गठन गर्नुपर्दछ ।’

कांग्रेस संसदीय दलले पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेको निष्कर्ष निकालेको छ ।

आङ्देम्बेले पत्रकार पक्राउको स्पष्ट कानुनी आधार, पक्राउ पुर्जी वा अदालतको अनुमति सार्वजनिक नगरी समाचार कक्षमै प्रहरी परिचालन गरिनु स्वतन्त्र पत्रकारितामाथिको अनुचित दबाब भएको टिप्पणी गरे । यस्तो गतिविधि विधिको शासनविपरीत र स्वेच्छाचारी भएको भन्दै उनले सरकारले त्यसको जवाफ दिनुपर्ने बताए ।

जनसरोकारका विषय र सुशासनका सन्दर्भमा सरकारले गर्ने सही काममा कांग्रेसको समर्थन रहने उनको भनाइ छ । तर लोकतन्त्र, विधिको शासन, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणजस्ता आधारभूत मूल्य तथा मान्यताविपरीत सरकार अघि बढेमा कांग्रेसले विरोध गर्ने उनले स्पष्ट पारे ।

न्यायपालिकाको स्वतन्त्रता अक्षुण्ण राख्नुपर्नेमा पनि कांग्रेसको जोड रहेको आङ्देम्बेले बताए । सरकारका गतिविधिले जवाफदेहिताको आवश्यकतालाई बेवास्ता गर्ने प्रवृत्ति देखिएको उनको भनाइ थियो ।

कांग्रेसका अनुसार पछिल्ला घटनाक्रमले मुलुकको संवैधानिक संरचनालाई कमजोर बनाउँदै सरकारअनुकूल शासन व्यवस्था स्थापित गर्ने सुनियोजित प्रयास भइरहेको आशंका पैदा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?