Butwal Today

पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति नेपाल मिडिया सोसाइटीको आपत्ति

२८ श्रावण २०८३, बिहीबार
अ+
अ-

बुटवल ।

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल मिडिया सोसाइटीले गम्भीर आपत्ति जनाएको छ ।

नेपाल मिडिया सोसाइटीका महासचिव बोधराज त्रिपाठीले २८ साउन २०८३ मा जारी गरेको प्रेस विज्ञप्तिमा प्रकाशित समाचारका विषयमा कुनै गुनासो वा आपत्ति भए प्रचलित कानुन तथा प्रेससम्बन्धी स्थापित प्रक्रियामार्फत समाधान खोजिनुपर्नेमा समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल मर्मविपरीत भएको उल्लेख गरिएको छ ।

सोसाइटीले नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक तथा स्वतन्त्र पत्रकारिताको अधिकार लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भ भएको जनाएको छ । समाचार प्रकाशनकै कारण पक्राउ गर्ने वा अनुसन्धानका नाममा पत्रकारलाई त्रसित बनाउने कार्यले स्वतन्त्र पत्रकारिताको वातावरणमा नकारात्मक असर पार्ने सोसाइटीको ठहर छ ।

प्रकाशित समाचारसँग सम्बन्धित विषयमा कानुनी प्रश्न वा आपत्ति भए कानुनी उपचार खोज्न सकिने उल्लेख गर्दै सोसाइटीले पत्रकारको व्यावसायिक अधिकार तथा प्रेससम्बन्धी स्थापित मान्यताको पूर्ण सम्मान हुनुपर्नेमा जोड दिएको छ ।

नेपाल मिडिया सोसाइटीले पत्रकार किशोर श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गर्न सम्बन्धित निकायसँग माग गरेको छ । साथै, प्रकाशित समाचारका सम्बन्धमा कुनै कानुनी प्रश्न वा आपत्ति भए कानुनी प्रक्रियामार्फत समाधान खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

स्वतन्त्र पत्रकारितामाथि हुने कुनै पनि प्रकारको दबाब, हस्तक्षेप वा दमनप्रति नेपाल मिडिया सोसाइटी सधैँ सचेत, प्रतिबद्ध र खबरदारीमा रहने सोसाइटीका महासचिव बोधराज त्रिपाठीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?