© 2026
सुदूरपश्चिम ।
सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ः०० बजे बस्दैछ ।
बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपसचिव ताराकुमारी जोशीले जानकारी दिइन ।
यस्तै, विगत लामो समयदेखि बैठकमा अनुपस्थित प्रदेशसभा सदस्यका विषयमा पनि छलफल हुने सम्भावित कार्यसूचीमा रहेको उनले बताइन । सत्ता गठबन्धनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गत असार ३१ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् । संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत वा राजीनामा दिनुपर्ने प्रावधानअनुरुप उनले विश्वासको मत दिन लागेका हुन् ।
बुधबार सभामुख भीमबहादुर भण्डारीलाई विश्वासको मत लिने जानकारी गराउँदै मुख्यमन्त्री शाहले प्रदेशसभा बैठक आह्वानका लागि पत्र पठाएका थिए । सुदूरपश्चिम प्रदेशसभामा ५३ जना सदस्य रहेका छन् । तीमध्ये मुख्यमन्त्री शाह नेतृत्वको नेपाली कांग्रेसबाट १८, नेपाली कम्युनिष्ट पार्टीबाट सभामुखसहित २२, एमालेबाट ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना प्रदेशसभा सदस्य रहेका छन् । सरकार गठन वा विश्वासको मतका पक्षमा २७ जना आवश्यक पर्छन् । हाल एक जना देश बाहिर र एक जना निलम्बनमा रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।