© 2026
काठमाडौँ । प्रेस काउन्सिल नेपालले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको पक्राउ र सञ्चारमाध्यमको कार्यालयमा गरिएको खानतलासीबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काउन्सिलका प्रवक्ता दीपक खनालले बिहीबार विज्ञप्ति जारी गर्दै आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठलाई २०८३ साउन २७ गते बुधबार राति पक्राउ गरी निजी निवासमा खानतलासी गरिएको र बिहीबार बिहान सञ्चारमाध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
विज्ञप्तिमा नागरिकको सूचनाको हकको प्रत्याभूति प्रेस स्वतन्त्रताबाटै हुने भएकाले प्रेसको मर्यादा कायम राख्नु सबै सरोकारवालाको कर्तव्य भएको उल्लेख गरिएको छ । साथै, प्रेस स्वतन्त्रताको सदुपयोग र सम्मान हुनुपर्नेमा काउन्सिलले जोड दिएको छ ।
काउन्सिलले पत्रकार तथा सञ्चारकर्मीको कार्यशैली, व्यवहार, पेसागत मर्यादा र आचरणप्रति पनि उत्तिकै चासो राख्दै आएको जनाएको छ । प्रेस स्वतन्त्रताको प्रयोग गर्ने नाममा हुनसक्ने स्वच्छन्दताप्रति सबै पत्रकार तथा सञ्चारकर्मी सचेत हुनुपर्ने काउन्सिलको भनाइ छ ।
सत्य, तथ्य, सन्तुलित र विश्वसनीय पत्रकारिताको माध्यमबाट व्यावसायिक अभ्यासलाई उच्च पेसागत मर्यादित, जबाफदेही र उत्तरदायी बनाउनुपर्नेमा पनि काउन्सिलले जोड दिएको छ । प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिन सबै पक्षले सजगता अपनाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
काउन्सिलले आफ्नो क्षेत्राधिकारभित्र रहेर पत्रकार र सञ्चारमाध्यमको दुवै दृष्टिकोणबाट अनुगमन गर्दै आएको जनाउँदै कुनै समाचारको विषयमा चित्त नबुझे काउन्सिलमा उजुरी दिन सरोकारवाला सबै पक्षलाई अनुरोध गरेको छ ।
