Butwal Today

रिडीमा २ करोड ५० लाखको व्यवस्थित शवदाहस्थल

२५ श्रावण २०८३, सोमबार
अ+
अ-

तम्घास । गुल्मीको रिडीमा वर्षभरि र चौबिसै घण्टा शवदाह गर्न सकिने गरी व्यवस्थित शवदाहस्थल निर्माण गरिएको छ ।

दुई करोड ५० लाख ४५ हजार रुपियाँको लागतमा निर्माण गरिएको शवदाहस्थलमा मलामीका लागि विश्रामस्थलसहित आवश्यक पूर्वाधार निर्माण गरिएको हो ।

रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीका अनुसार गुल्मीका साथै पाल्पा, अर्घाखाँचीलगायत जिल्लाबाट अन्त्येष्टिका लागि रिडीमा शव ल्याउने गरिएकाले वर्षायाम र हिउँद दुवै समयमा सहज रूपमा शवदाह गर्न सकिने गरी घाट निर्माण गरिएको हो ।

शवदाहस्थल निर्माणमा छत्रदेव गाउँपालिका अर्घाखाँची र रुरुक्षेत्र गाउँपालिकाको ५९ लाख ५३ हजार, सङ्घीय सरकारको एक करोड ३० लाख, रेसुङ्गा नगरपालिका, गुल्मीदरबार गाउँपालिका, छत्रकोट गाउँपालिका र अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको १०–१० लाख तथा रुरुक्षेत्र गाउँपालिकाको २० लाख ९२ हजार रुपियाँ लगानी भएको गाउँपालिकाले जनाएको छ ।

शवदाहस्थलमा केही पूर्वाधार निर्माणको काम भने बाँकी रहेको छ । मलामीका लागि आश्रय तथा विश्रामस्थल, काली गण्डकी करिडोरबाट शवदाहस्थलसम्म पुग्ने पक्की सडक, खानेपानी र शौचालयलगायतका संरचना निर्माण गर्न बाँकी रहेको गाउँपालिकाले जनाएको छ ।

रातको समयमा समेत शवदाह गर्नुपर्ने अवस्थालाई ध्यानमा राखेर प्रकाशको व्यवस्था गर्ने तयारी गरिएको अध्यक्ष ज्ञवालीले बताए । आवश्यक अन्य संरचना पनि क्रमशः थप गरिने उनले जानकारी दिए ।

छिमेकी स्थानीय तहको सहकार्यमा शवदाहस्थल निर्माण भएकाले यसले एकभन्दा बढी स्थानीय तहका नागरिकको आवश्यकता पूरा गर्ने अध्यक्ष ज्ञवालीको भनाइ छ । “छिमेकी पालिकाको सहकार्य र उपस्थितिसहित निर्माण अघि बढेको यो शवदाहस्थल दुई वा दुईभन्दा बढी स्थानीय तहका नागरिकको दुःखसुखको सारथी बनेको छ,” उनले भने ।

रिडीमा अन्त्येष्टिका लागि पाल्पा, अर्घाखाँची तथा गुल्मीका विभिन्न स्थानबाट शव ल्याउने गरिएको स्थानीय रामलाल विकले बताए । व्यवस्थित शवदाहस्थल निर्माण भएपछि वर्षायाममा शवदाह गर्न हुने कठिनाइ कम हुने स्थानीयको अपेक्षा छ ।

रिडी धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महत्त्वपूर्ण क्षेत्र हो । यहाँ नेपालकै नमुनाका रूपमा रहेको तीन मुखे पुल तथा ऋषि केश मन्दिरलगायतका स्थलमा पर्यटक तथा धार्मिक पर्यटक आउने गरेका छन् ।

अन्त्येष्टि तथा धार्मिक–पर्यटकीय गतिविधिका कारण रिडीका होटल तथा अन्य व्यवसायमा समेत आर्थिक गतिविधि बढेको स्थानीय व्यवसायी बताउँछन् । शवदाहस्थलसँगै अन्य पूर्वाधारसमेत पूरा भएपछि रिडीको धार्मिक, सामाजिक तथा आर्थिक गतिविधिमा थप सहजता आउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?