© 2026
सल्यान । कर्णाली प्रदेश सरकारले गठन गरेको विशेष कार्यदलले सल्यानमा खडेरी प्रभावित क्षेत्रको अनुगमन गरेको छ ।
लामो समयदेखि पर्याप्त वर्षा नहुँदा खडेरीको चपेटामा परेको सल्यानको पश्चिमी क्षेत्र र सुर्खेतको सिम्ता गाउँपालिकाको वास्तविक अवस्था बुझ्न टोली शुक्रबारदेखि प्रभावित क्षेत्रमा पुगेको हो ।
कृषि उत्पादनदेखि खानेपानी र स्थानीय जनजीवनसम्म परेको असरको यथार्थ विवरण सङ्कलन गर्न कार्यदलले स्थलगत अध्ययन तथा अनुगमन सुरु गरेको हो ।
कार्यदलले सल्यानको वनगाड कुपिण्डे नगरपालिका र सुर्खेतको सिम्ता गाउँपालिकाका विभिन्न प्रभावित बस्ती, खेतबारीको अवलोकन गर्ने कार्यक्रम रहेको छ । सल्यानको बनगाडमा अनुगमनका क्रममा टोलीले स्थानीय किसान तथा बासिन्दासँग प्रत्यक्ष छलफल गर्दै खडेरीका कारण भोग्नुपरेका समस्या र आवश्यकताबारे जानकारी लिएको हो ।
अनुगमन टोलीमा सल्यानबाट निर्वाचित प्रदेशसभा सदस्य तथा कर्णाली प्रदेश सरकारका पूर्व मन्त्री भीमप्रकाश शर्मासहित प्रदेश सरकारका प्रतिनिधि, कृषि क्षेत्रका विज्ञ तथा प्राविधिकहरू सहभागी छन् ।
स्थानीय किसानहरूले समयमा वर्षा नहुँदा धान रोपाइँ नै गर्न नसकेको, मकै, कोदो, तरकारी लगायतका बाली सुक्न थालेको, उत्पादनमा ठूलो गिरावट आउने अवस्था सिर्जना भएको बताएका छन् ।
कार्यदलले सङ्कलन गर्ने तथ्याङ्क र स्थलगत अध्ययनका आधारमा प्रदेश सरकारलाई विस्तृत प्रतिवेदन बुझाइने जनाइएको छ । सोही प्रतिवेदनका आधारमा तत्काल राहत, बीउ बिजन तथा आवश्यक सहयोग उपलब्ध गराउनेदेखि दीर्घकालीन रूपमा सिँचाइ र खाने पानीका योजनालाई प्राथमिकताका साथ अघि बढाउने अपेक्षा स्थानीयले गरेका छन् ।
खडेरीको असर बढ्दै गएपछि प्रदेश सरकारले वास्तविक अवस्था बुझेर आवश्यक निर्णय लिन विशेष कार्यदल नै प्रभावित क्षेत्रमा पठाएको हो ।