© 2026
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारमा सहभागी दलहरूसँग मन्त्रालय बाँडफाँट र नयाँ जिम्मेवारी टुङ्ग्याउने विषयमा औपचारिक छलफल सुरु गरेका छन्।
राप्ती उपत्यका (देउखुरी) स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सत्ता साझेदार दलका शीर्ष नेताहरू सहभागी छन् ।
छलफलमा नेकपाको तर्फबाट जोखबहादुर महरा, प्रमुख सचेतक इन्द्रजीत थारु, दिपेन्द्र पुन, एमालेका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री तुलसीप्रसाद चौधरी तथा जसपा नेपालका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डे र आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिर सहभागी रहेका छन् ।
प्रदेश सरकारले हालै मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक आठ मन्त्रालय कायम गरेको छ। नयाँ संरचनाअनुसार मन्त्रालयहरूको जिम्मेवारी सत्ता साझेदार दलहरूबिच बाँडफाँट गर्ने तयारी भइरहेको छ ।
सरकारका अनुसार प्रशासनिक खर्च घटाउने, कार्यसम्पादनलाई प्रभावकारी बनाउने तथा मन्त्रालयहरूबिच समन्वय बढाउने उद्देश्यले मन्त्रालय पुनर्संरचना गरिएको हो। सोही आधारमा राजनीतिक सहमति, दलगत प्रतिनिधित्व र कार्यसम्पादन क्षमतालाई मध्यनजर गर्दै मन्त्रालयको जिम्मेवारी टुङ्ग्याइने तयारी छ ।
हाल लुम्बिनी प्रदेश सरकारमा एमालेका तर्फबाट मुख्यमन्त्रीसहित पाँच जना तथा जसपा नेपालका दुई जना मन्त्री रहेका छन्। नेपाली काँग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि रिक्त मन्त्रालयहरूको जिम्मेवारी मुख्यमन्त्री आचार्यले नै सम्हाल्दै आएका छन् ।