© 2026
सिद्धार्थनगर ।
आन्तरिक राजस्व कार्यालय भैरहवाले आर्थिक वर्ष २०८२/८३ मा निर्धारित राजस्व लक्ष्यभन्दा बढी सङ्कलन गर्न सफल भएको छ । कार्यालयले पाएको १६ अर्ब ९२ करोड रुपैयाँको राजस्व लक्ष्यलाई पार गर्दै १९ अर्ब १६ करोड रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले जानकारी दिएका छन् ।
प्रमुख कर अधिकृत पोख्रेलका अनुसार कार्यालयले हासिल गरेको राजस्व सङ्कलन लक्ष्यको तुलनामा ११३.२ प्रतिशत हो । अघिल्लो वर्ष सङ्कलन भएको १४ अर्ब ९ करोड रुपैयाँको तुलनामा यस वर्षको राजस्व सङ्कलन ३६ प्रतिशतले वृद्धि भएको उनले बताए ।
राजस्व सङ्कलनमा आएको उल्लेखनीय सुधार पछाडि आर्थिक गतिविधिमा आएको सकारात्मक परिवर्तन, करदाताको कारोबार विस्तार तथा उत्पादन र बिक्री वितरणमा भएको वृद्धिले महत्त्वपूर्ण भूमिका खेलेको कार्यालयको भनाइ छ । पछिल्लो समय बजार तथा आर्थिक गतिविधि विस्तार हुँदै जाँदा त्यसको प्रत्यक्ष प्रभाव कर सङ्कलनमा परेको प्रमुख कर अधिकृत पोख्रेलले बताए ।
उनका अनुसार कार्यालयले आफ्नो आन्तरिक व्यवस्थापन र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउँदै बक्यौता असुलीलाई तीव्रता दिएको थियो । करदाता शिक्षालाई थप व्यवस्थित, प्रभावकारी र लक्ष्य केन्द्रित बनाइएको, सेवा प्रवाहलाई छिटोछरितो बनाइएको तथा कर परीक्षण र अनुसन्धानका कामलाई प्राथमिकताका साथ अगाडि बढाइएको उनले जानकारी दिए ।
“राजस्व वृद्धि हुनुमा केवल आर्थिक गतिविधि मात्र होइन, कार्यालयको तर्फबाट गरिएको व्यवस्थापन सुधार र सक्रियताले पनि महत्त्वपूर्ण योगदान गरेको छ,” पोख्रेलले भने । उनका अनुसार अन्य सरकारी निकाय तथा तेस्रो पक्षबाट करदाताले प्राप्त गर्नुपर्ने रकममा बाँकी रहेको कर असुली गर्ने प्रक्रियालाई समेत प्रभावकारी बनाइएको थियो ।
आन्तरिक राजस्व कार्यालय भैरहवाअन्तर्गत हाल करिब २ लाख १० हजार करदाता रहेका छन् । कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा मात्रै २४ हजार ५ सय ६८ नयाँ करदातालाई करको दायरामा ल्याउन सफल भएको जनाएको छ । कर प्रणालीप्रति नागरिकको पहुँच र बुझाइ विस्तार गर्ने उद्देश्यले कार्यालयले करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रमलाई समेत निरन्तरता दिएको थियो । सो अवधिमा २१ वटा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको प्रमुख कर अधिकृत पोख्रेलले बताए ।
बक्यौता असुलीतर्फ पनि कार्यालयले उल्लेखनीय उपलब्धि हासिल गरेको छ । कुल १ अर्ब १५ करोड रुपैयाँ बक्यौतामध्ये ५३ करोड रुपैयाँ असुली गरिएको कार्यालयले जनाएको छ । बक्यौता असुलीलाई प्रभावकारी बनाउन नियमित अनुगमन, सम्पर्क तथा आवश्यक प्रक्रिया अघि बढाइएको पोख्रेलले जानकारी दिए ।
त्यस्तै, कर परीक्षण तथा अनुसन्धानतर्फ पनि कार्यालयले सक्रियता देखाएको छ । गत आर्थिक वर्षमा ३५ वटा करदाताको कारोबार परीक्षण तथा अनुसन्धान सम्पन्न गरी करिब ९ करोड रुपैयाँ कर निर्धारण गरिएको छ । कर प्रशासनलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले अनुसन्धानका कामलाई प्राथमिकताका साथ अघि बढाइएको कार्यालयको भनाइ छ ।
कार्यालयले लामो समयदेखि निष्क्रिय रहेका करदाता तथा दर्ता खारेजीका लागि निवेदन दिएका करदाताको व्यवस्थापनमा समेत अभियान सञ्चालन गरेको छ । सो क्रममा १ हजार ६०४ वटा करदाताको दर्ता खारेजी सम्पन्न गरिएको छ । अघिल्लो वर्ष करिब १ हजार १०० वटा दर्ता खारेजी गरिएकोमा यस वर्ष अभियानकै रूपमा काम अगाडि बढाइएको प्रमुख कर अधिकृत पोख्रेलले बताए ।
यसै गरी, बेरुजु सम्परीक्षणमा पनि कार्यालयले प्रगति गरेको छ । कुल ७१ करोड रुपैयाँ बेरुजुमध्ये ३४ करोड रुपैयाँ बराबरको बेरुजु सम्परीक्षण गर्न सफल भएको कार्यालयले जनाएको छ ।
आगामी दिनमा विभागबाट प्राप्त हुने राजस्व लक्ष्य पूरा गर्नु नै कार्यालयको मुख्य प्राथमिकता रहने प्रमुख कर अधिकृत पोख्रेलले बताए । त्यससँगै बक्यौता असुली, बेरुजु फर्छ्योट, करदाताको दायरा विस्तार, कर परीक्षण तथा अनुसन्धान, उजुरीको सुनुवाइ र गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउने योजना रहेको उनले जानकारी दिए ।
सरकारले बजेटमार्फत उपलब्ध गराएका विभिन्न कर छुट तथा सहुलियतका कार्यक्रमबारे करदातालाई जानकारी गराउँदै बढीभन्दा बढी करदातालाई त्यसबाट लाभ लिन प्रेरित गर्ने योजना पनि कार्यालयले बनाएको छ । कर प्रणालीलाई सहज, पारदर्शी र करदातामैत्री बनाउँदै राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित आगामी कार्यक्रम अघि बढाइने प्रमुख कर अधिकृत पोख्रेलले प्रतिबद्धता व्यक्त गरेका छन् ।