© 2026
बुटवल ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले पछिल्लो २४ घण्टाको ट्राफिक गतिविधि तथा सवारी दुर्घटनासम्बन्धी विवरण सार्वजनिक गरेको छ ।
कार्यालयका अनुसार लुम्बिनी प्रदेशका विभिन्न स्थानमा २४ घण्टाको अवधिमा १६ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको कार्यालयले जनाएको छ ।
सोही अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ सय ४६ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ । उक्त कारबाहीबाट ४ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ ।
सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ४५ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको पनि कार्यालयले जनाएको छ । चालक तथा सर्वसाधारणलाई लक्षित ती कार्यक्रमबाट २ हजार ४३९ जना लाभान्वित भएका छन् । कार्यक्रममा सुरक्षित सवारी सञ्चालन, ट्राफिक नियमको पालना, सिटबेल्ट र हेल्मेटको अनिवार्य प्रयोग, मादक पदार्थ सेवन गरी सवारी नचलाउने तथा वर्षायाममा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिइएको थियो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले सबै चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, निर्धारित गति कायम राख्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा हेल्मेट र सिटबेल्टको अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ ।