© 2026
नेपालगन्ज । विश्व बाघ दिवस (जुलाई २९) को अवसरमा सार्वजनिक गरिएको नयाँ तथ्याङ्कले बाँके राष्ट्रिय निकुञ्जमा बाघ संरक्षणको उल्लेखनीय सफलता उजागर गरेको छ । पाटे बाघ संरक्षणकै लागि सन् २०१० मा स्थापना भएको बाँके राष्ट्रिय निकुञ्जमा अहिले बाघको सङ्ख्या दोब्बरभन्दा बढी वृद्धि भएर २५ बाट ५१ पुगेको हो ।
सरकारले सार्वजनिक गरेको पछिल्लो गणनाअनुसार बाँके राष्ट्रिय निकुञ्जमा अहिले ५१ वटा पाटे बाघ रहेका छन् । यसअघि सन् २०२२ को गणनामा यहाँ २५ वटा, सन् २०१८ मा २१ वटा र सन् २०१३ मा जम्मा ४ वटा बाघ मात्र रहेका थिए । करिब १२ वर्षको अवधिमा बाघको सङ्ख्या चारबाट ५१ पुग्नु संरक्षणका दृष्टिले महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।
बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बाघको सङ्ख्या उल्लेख्य रूपमा बढ्नुमा प्रभावकारी संरक्षण व्यवस्थापन, चोरी–सिकारी नियन्त्रण, पर्याप्त आहारा र अनुकूल वासस्थान मुख्य कारण रहेको बताए ।
उनका अनुसार चुरे र भावर क्षेत्रलाई प्रतिनिधित्व गर्ने बाँके राष्ट्रिय निकुञ्जमा प्राकृतिक रूपमा पानीको स्रोत सीमित भए पनि वन्यजन्तुलाई वर्षभरि पानी उपलब्ध गराउन विशेष योजना अन्तर्गत ३० वटा सौर्य ऊर्जाबाट सञ्चालन हुने कृत्रिम पोखरी निर्माण गरिएको छ । त्यसका अतिरिक्त चुरेको फेदीबाट पाइपलाइनमार्फत पानी ल्याइएका पोखरी तथा वर्षभरि नसुक्ने मुगुवा खोला र चंगाई नालाले पनि वन्यजन्तुलाई पर्याप्त पानी उपलब्ध गराइरहेका छन् ।
“बाघ संरक्षणका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा उपयुक्त वासस्थान, पर्याप्त घाँसे मैदान, आहारा प्रजातिका जनावर र पानीको उपलब्धता हो,” कँडेलले भने, “निकुञ्जमा चोरी–सिकारी लगभग शून्य अवस्थामा छ। चित्तल, चौका र बँदेलजस्ता आहारा प्रजातिको सङ्ख्या पनि उल्लेख्य रूपमा बढेको छ । यही कारण बाघको सङ्ख्या निरन्तर वृद्धि भइरहेको हो ।”
उनका अनुसार अहिले निकुञ्ज क्षेत्रमा वयस्क बाघसँगै डमरु (बच्चा बाघ) पनि प्रशस्त देखिन थालेका छन्, जसले बाघको प्रजनन दर राम्रो रहेको सङ्केत गर्छ । बाघको सङ्ख्या बढेसँगै बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण पनि बढ्दै गएको छ । पछिल्लो समय सफारीमा निस्किएका धेरै पर्यटकले प्रत्यक्ष बाघ देखेका दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् । यसले निकुञ्जलाई वन्यजन्तु पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्न थप सहयोग पुगेको संरक्षणकर्मीहरूको विश्वास छ ।
यता, बाँकेसँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्जमा भने विपरीत अवस्था देखिएको छ । आरा प्रजाति र उचित वासस्थानको व्यवस्था हुँदाहुँदै पनि पछिल्लो गणनाअनुसार बर्दियामा बाघको सङ्ख्या सन् २०२२ को १२५ बाट घटेर ११२ मा झरेको छ ।
बाँके राष्ट्रिय निकुञ्जमा भने संरक्षणका प्रभावकारी प्रयास, वन्यजन्तुमैत्री व्यवस्थापन र स्थानीय समुदायको सहभागिताले बाघ संरक्षणमा उल्लेखनीय सफलता दिलाएको भन्दै संरक्षणकर्मीहरूले यस उपलब्धिलाई दीर्घकालसम्म कायम राख्न संरक्षण अभियानलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।