© 2026
चन्द्रौटा ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२, गैडहवा चोकमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ ।
बुधबार बिहान करिब ७ बजे तौलिहवातर्फ जाँदै गरेको ना २ ख २३६४ नम्बरको मदिरा बोकेको ट्रकले विपरीत दिशाबाट आउँदै गरेका पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्थानीय १२ वर्षीय आनन्द कश्यप, महाराजगञ्ज नगरपालिका–३ निवासी ७५ वर्षीय भोलई कुर्मी र ४५ वर्षीय विजयकुमार गुप्ताको मृत्यु भएको छ । तीमध्ये दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको उनले बताए ।