© 2026
बुटवल ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले २४ घण्टाको ट्राफिक गतिविधि तथा दुर्घटना विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार लुम्बिनी प्रदेशका विभिन्न स्थानमा २१ वटा सवारी दुर्घटना भएका छन् ।
दुर्घटनामा कुनै पनि मानिसको मृत्यु नभएको कार्यालयले जनाएको छ । यद्यपि, दुर्घटनाका क्रममा एक चौपायाको मृत्यु भएको छ भने विभिन्न दुर्घटनामा परी ४२ जना घाइते भएका छन् । घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ ।
ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि गरिएको निगरानी तथा कारबाही अभियानअन्तर्गत एकै दिन ४३२ वटा सवारीसाधनलाई कारबाही गरिएको छ । उक्त कारबाहीबाट कुल ५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यातायात प्रवर्द्धन गर्ने उद्देश्यले सोही दिन ४० वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । ती कार्यक्रममार्फत २ हजार सर्वसाधारण तथा चालक लाभान्वित भएका कार्यालयले जनाएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले सवारी चलाउँदा ट्राफिक नियमको पूर्ण पालना गर्न, निर्धारित गति कायम राख्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा हेल्मेट र सिट बेल्टको अनिवार्य प्रयोग गर्न सबैलाई आग्रह गरेको छ ।