© 2026
नेपालगन्ज । नेपालगन्जको त्रिभुवन चोकस्थित कृष्ण भोग मिठाई पसलमा दैनिक करिब १८० लिटर दूध आवश्यक पर्छ ।
यही दूधबाट खुवा, रबडी, लस्सी, कुल्फी र विभिन्न दुग्धजन्य मिठाई तयार गरिन्छ । तर पछिल्ला केही सातायता आवश्यक परिमाणमा दूध उपलब्ध हुन छाडेको छ ।
पसल सञ्चालक दिव्यान्स गुप्ता भन्छन्, “हामीलाई दैनिक १८० लिटर दूध चाहिन्छ । अहिले मुस्किलले १०० लिटर पुग्छ । कतिपय दिन त एक लिटर दूध पनि आउँदैन । नियमित दूध ल्याउने किसानहरूले पनि अहिले दूध पाउन गाह्रो भएको बताइरहेका छन् ।”
उनका अनुसार सीमावर्ती क्षेत्रका केही किसानले नेपाली दूधसँग भारतीय दुधमिसाएर ल्याउने गरेका थिए । सीमामा कडाइ भएपछि त्यो आपूर्ति रोकिएकाले अहिले दूधको अभाव महसुस हुन थालेको हो । “सायद भारतबाट दुधआउन छाडेकै कारण यस्तो समस्या भएको हो,” उनले भने ।
त्रिभुवन चोकमै दुईवटा डेरी सञ्चालनमा छन् । तर विडम्बना के छ भने दूध अभावको गुनासो गर्ने अधिकांश मिठाई पसल डेरीबाट दूध किन्न जाँदैनन् । एसके डेरी इन्डस्ट्रिजमा काम गर्ने अंकित गुप्ताका अनुसार डेरीमा दूधको अभाव छैन, बरु बिक्री घटेको छ ।
“पहिले दैनिक २०० देखि २५० लिटर दूध बिक्री हुन्थ्यो । अहिले मुस्किलले ७० लिटर बिक्री हुन्छ,” उनले भने । उनका अनुसार मिठाई व्यवसायीहरू खुला दूध सस्तो पर्ने भएकाले डेरीको दूध प्रयोग गर्न रुचाउँदैनन् । “खुला दूध नपाए पनि डेरीमा आउँदैनन् । वास्तवमा अभाव डेरीमा होइन, भारतीय दूध प्रयोग गर्नेहरूको हो,” उनले स्पष्ट पारे ।
सीमामा भएको कडाइको सबैभन्दा ठूलो लाभ भने स्थानीय दुग्ध किसानले उठाएका छन् । वर्षौँदेखि भारतीय दूधको सस्तो मूल्यसँग प्रतिस्पर्धा गर्न नसकिरहेका किसान अहिले आफ्नो उत्पादन सहजै बिक्री हुन थालेपछि उत्साहित देखिन्छन् ।
डुडुवा गाउँपालिका–१ चौफेरीका किसान रामबकेश यादव अहिले दैनिक करिब ४० लिटर दूध नेपालगन्जका घरघर र मिठाई पसलमा पु¥याउँछन् । “पहिले प्रतिलिटर ५० देखि ७५ रुपैयाँसम्म मात्र पाइन्थ्यो । अहिले ९० रुपैयाँसम्म सजिलै बिक्री भइरहेको छ । पैसा पनि समयमै पाइन्छ,” उनले सुनाए ।
आफ्ना चारवटा दुहुनो भैंसीको दूधसँगै अन्य किसानको दूध सङ्कलन गरेर बजारमा पु¥याउने यादवका अनुसार अहिले दूध बेच्न कुनै समस्या छैन । यद्यपि उनी भारतबाट अवैध रूपमा दूध भित्रिने क्रम पूर्ण रूपमा भने नरोकिएको बताउँछन् ।
“अझै लुकीछिपी दूध आउँछ । तर अहिले हामीजस्ता किसानलाई आफ्नो दूध बेच्न कठिनाइ छैन,” उनले भने । भारतीय दूधको प्रयोगमा निर्भर रहेका नेपालगन्जका धेरै मिठाई व्यवसायीले अहिले दूधबाट बन्ने परिकारको उत्पादन घटाएका छन् ।
पहिले खुवा, पनिर, राबडीलगायतका परिकार ठूलो परिमाणमा उत्पादन हुने गरेको भए पनि अहिले धेरै पसल दूध र दहीमै सीमित भएका छन् । नेपालगञ्जमा स्थानीय दूधबाट ठूलो परिमाणमा राबडी उत्पादन गर्दै आएका अमरदीप हलवाईका अनुसार दूध र ग्यासको मूल्य बढेपछि व्यवसाय सञ्चालन गर्न कठिन भएको छ ।
“पहिले दैनिक दुई सयदेखि अढाई सय लिटर दूधको राबडी बन्थ्यो । अहिले मुस्किलले एक सय लिटरको मात्र उत्पादन हुन्छ,“ उनले भने । उनका अनुसार पहिले ७०–८० रूपैयाँ प्रतिलिटर पाइने दूध अहिले १०० रूपैयाँभन्दा कममा पाइँदैन । त्यसमा एलपी ग्यासको मूल्य वृद्धि हुँदा लागत अत्यधिक बढेको छ ।
जिल्ला दुग्ध व्यवसायी संघ बाँकेका अध्यक्ष दीपकराज भण्डारी भने बाँकेमा दूध अभाव नभएको दाबी गर्छन् । उनका अनुसार बाँकेमा दैनिक करिब २४ हजार लिटर दूध उत्पादन हुन्छ भने बर्दियाबाट थप ७ हजार लिटर दूध बाँके भित्रिन्छ ।
बाँकेको दैनिक खपत करिब २२ हजार लिटर मात्रै रहेको छ भने करिब ७ हजार लिटर दूध अन्य जिल्लामा पनि पठाइन्छ ।
“भारतीय दूध रोकिए पनि बाँकेमा दूध अभाव छैन बरु यहाँ उत्पादन भएको दूध बाहिर पठाइरहेका छौं,” अध्यक्ष भण्डारीले भने । उनका अनुसार पछिल्लो समय दूधको मूल्य बढेपछि पशुपालनतर्फ किसानको आकर्षण पनि बढेको छ । अहिले बाँके दूध उत्पादनमा आत्मनिर्भर भइसकेको भन्दै उनले बाहिरी दूधको आवश्यकता नरहेको बताए ।
दुग्ध व्यवसायी संघका अनुसार भारतीय दूध नेपाली दूध भन्दा प्रतिलिटर २५ देखि ३० रुपैयाँसम्म सस्तो पर्छ । तर मूल्यमा भएको यो अन्तर गुणस्तरसँग जोडिएको छ ।
संघले ४.५ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफ भएको होल दूधको मूल्य प्रतिलिटर १०० रूपैयाँ तथा ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफ भएको स्ट्यान्डर्ड दूधको मूल्य ९६ रूपैयाँ निर्धारण गरेको छ ।
अध्यक्ष भण्डारीका अनुसार नेपाली दूध दुहिएको दुई घण्टाभित्र डेरीमा पुग्नुपर्ने हुन्छ, किनभने शुद्ध दूध लामो समय राख्दा चाँडै फाट्ने सम्भावना हुन्छ । “तर भारतमा बिहान दुहिएको दूध दिउँसो दुई बजेसम्म नेपालका बजारमा आइपुग्दा पनि नफाट्नुले त्यसको गुणस्तरबारे प्रश्न उठाउँछ,” उनले भने । उनका अनुसार भारतबाट दूध मात्र होइन, खुवा र पनिर जस्ता दुग्धजन्य पदार्थ पनि अवैध रूपमा नेपाल भित्रिने गरेका छन् ।
नेपाल–भारत सीमामा अवैध रूपमा भित्रिने दुधमाथि कडाइ गरिएपछि बाँकेको दुग्ध क्षेत्रले दुई फरक तस्बिर देखाएको छ । एकातिर वर्षौँदेखि भारतीय दुधसँग प्रतिस्पर्धा गर्दै आएका नेपाली दुग्ध किसान आफ्नो उत्पादनले उचित बजार र मूल्य पाउन थालेपछि उत्साहित छन् भने अर्कोतर्फ सस्तो भारतीय दूधमा निर्भर रहेका नेपालगन्जका मिठाई व्यवसायी भने दूध अभावका कारण उत्पादन घटाउन बाध्य भएका छन् ।
सीमामा दूध आयातमाथि भएको कडाइले तत्कालका लागि केही मिठाई उद्योगलाई कठिनाइ सिर्जना गरे पनि दीर्घकालीन रूपमा भने यसले नेपाली दुग्ध उत्पादनलाई संरक्षण गर्ने, किसानको आम्दानी बढाउने र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने सङ्केत देखिएको छ ।