काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले नारायणी अस्पताल वीरगन्जका चिकित्सकमाथि कुटपिट तथा अस्पताल तोडफोडको घटनामा संलग्नलाई कानुनी कारबाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगले शान्तिपूर्ण वार्ता र संवादमार्फत विवाद समाधान गर्न आग्रह गर्दै चिकित्सक डा। प्रमोद राममाथि भएको कुटपिट तथा अस्पतालमा भएको तोडफोड घटनाको सत्य तथ्य छानबिन गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्यजस्तो अत्यावश्यक सेवा बन्द हुँदा लाखौँ मानिसको जीवन जोखिममा पर्न सक्ने भएकाले संवेदनशील भई सेवा सुचारु गर्न, आफ्ना विरोध र विमति राख्दा आम नागरिकको स्वास्थ्यमा असर नपर्ने वैकल्पिक उपाय अपनाउन तथा वार्तामार्फत समस्याको समाधान खोज्न आयोग नेपाल सरकार, आन्दोलनरत चिकित्सक, मृतकका परिवार तथा सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछ ।”
आयोगले अराजकताले प्रश्रय पाए कानुनी शासनमाथि चुनौती सिर्जना हुने उल्लेख गर्दै अस्पतालको सेवा अवरुद्ध हुँदा बिरामी उपचारबाट वञ्चित हुनुपरेकोप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।