© 2026
विराटनगर ।
सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगन्ज बजारमा घएको घटनापछि मोरङमा पनि डिजेको प्रयोगमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र डिजेको प्रयोग नगर्न सार्वजनिक सूचना जारी गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनामा जिल्ला भित्र हुने कुनै पनि मेला, महोत्सव, विवाह तथा विभिन्न समारोह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम, पुराणलगायतका कार्यक्रम तथा अन्य कुनै पनि स्थानमा पूर्वस्वीकृति वा छुट्टै सूचना जारी नभएसम्म डिजेको प्रयोग गर्न निषेध गरिएको उल्लेख छ ।
प्रशासनले सूचना विपरीत डिजेको प्रयोग गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लावासी सबैलाई सूचनाको पालना गर्न आग्रह गर्दै शान्ति–सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्न सहयोग गर्न अनुरोध गरेको छ ।
सुनसरीको कप्तानगन्ज बजारमा चर्को स्वरमा डिजे बजाएको विषयलाई लिएर विवाद सुरु भएको थियो । विवाद बढ्दै जाँदा दुई समुदायबीच झडप भएको थियो ।
झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
