© 2026
परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि नेतृत्वविहीन बनेको छ। अध्यक्ष बैजुप्रसाद गुप्ता भ्रष्टाचार मुद्दामा परेपछि पद रिक्त भएको हो भने उपाध्यक्ष फातुमा खातुन पार्टी परिवर्तनसम्बन्धी कारबाहीका कारण पदमुक्त भएकी छन्।अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अध्यक्ष गुप्ताविरुद्ध विशेष अदालतमा आरोपपत्र दर्ता भएपछि उनको पद यसअघि नै रिक्त भएको थियो।
यता नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्ष फातुमा खातुनले आफूलाई पुनः पदमा बहाल गर्न माग गर्दै सर्वोच्च अदालतमा अन्तरिम आदेशसहित रिट दायर गरेकी थिइन्। तर न्यायाधीश शारदा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले रिट खारेज गरेपछि निर्वाचन आयोगले गरेको पदमुक्त गर्ने निर्णय यथावत् रहने भएको छ। प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध अन्य दलका उम्मेदवारको पक्षमा मत मागेको आरोपमा नेपाली कांग्रेसले उनलाई कारबाहीका लागि निर्वाचन आयोगमा सिफारिस गरेको थियो।
सोही सिफारिसका आधारमा आयोगले गत असार ९ गते खातुनलाई पदमुक्त गरेको सूचना प्रकाशित गरेको थियो। अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएसँगै पाल्हीनन्दन गाउँपालिकाको राजनीतिक तथा प्रशासनिक नेतृत्व कसले सम्हाल्ने भन्ने विषय अहिले स्थानीय तहमा चासोको केन्द्र बनेको छ।