Butwal Today

लुम्बिनीमा ६८.७ प्रतिशत दुर्घटना तीव्र गतिका कारण, संलग्न सवारीमध्ये ६३ प्रतिशत मोटरसाइकल

१२ श्रावण २०८३, मंगलवार
अ+
अ-

बुटवल । लुम्बिनी प्रदेशका १२ जिल्लामा आर्थिक वर्ष २०८२/८३ मा ४ हजार ७ सय ९७ वटा सवारी दुर्घटना हुँदा ५ सय ८५ जनाले ज्यान गुमाएका छन्। नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार दुर्घटनामा १ हजार ७ सय ९९ जना गम्भीर घाईते र ६ हजार २ सय ५९ जना सामान्य घाइते भएका छन्।

कार्यालयले सञ्चारकर्मीहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा सार्वजनिक तथ्यांकअनुसार दुर्घटनाका मुख्य कारणमध्ये तीव्र गति सबैभन्दा अगाडि रहेको छ। कुल दुर्घटनामध्ये ३ हजार २ सय ९५ वटा ६८.७ प्रतिशत दुर्घटना तीव्र गतिका कारण भएका हुन्। त्यसपछि मादक पदार्थ सेवन मापसेबाट ६ सय १३, चालकको असक्षमता वा लापरवाहीबाट ५ सय ३५, अन्य चालकजन्य कारणबाट १०९, अनावश्यक ओभरटेकबाट १९, लेन अनुशासन उल्लंघनबाट ८, मोबाइल फोन प्रयोगबाट २ तथा निद्रा वा थकानका कारण ४ वटा दुर्घटना भएका छन्।

मोटरसाइकल सबैभन्दा जोखिममा

दुर्घटनामा संलग्न कुल ६ हजार ८२२ सवारी साधनमध्ये ४ हजार २८६ वटा मोटरसाइकल तथा स्कुटर रहेका छन्, जुन कुल संलग्न सवारी साधनको ६२.८२ प्रतिशत हो। त्यसपछि जिप कार ६६६, टेम्पो ५०९, शारीरिक शक्तिले चल्ने सवारी ४९५, बस २१०, ट्रकरट्र्याक्टर २०४, ट्र्याक्टर १९०, माइक्रोबस १२४, टिपर ९९ तथा अन्य ३३ सवारी साधन दुर्घटनामा परेका छन्।

दुर्घटनामा पुरुषको मृत्युदर अत्यधिक

दुर्घटनाबाट मृत्यु हुने ५८५ जनामध्ये ४२४ जना पुरुष, ११० जना महिला, ३४ जना बालक र १७ जना बालिका रहेका छन्। पुरुषको मृत्यु दर कुल मृतकमध्ये करिब ७२.४८ प्रतिशत रहेको कार्यालयले जनाएको छ।गम्भीर घाइते हुनेमा १ हजार १८६ पुरुष, ३६६ महिला, १६० बालक र ८७ बालिका छन्। सामान्य घाइते हुनेमा ४ हजार २९६ पुरुष, १ हजार ४३३ महिला, ५२६ बालक र २७४ बालिका रहेका छन्।

अधिकांश दुर्घटना मानवीय त्रुटिका कारण

प्राविधिक समस्याबाट भएका दुर्घटनामा ब्रेक फेल ५३, अन्य प्राविधिक समस्या १६, ओभरलोड ९, टायर पञ्चर ५, स्टेरिङ फेल ३, टायर चुडिनु ३, हाइड्रोलिक प्रणाली फेल २ र गियर प्रणाली फेल १ घटना रहेका छन्। सडक प्रयोगकर्ताको गल्तीबाट २३ दुर्घटना भएका छन्। यात्रुका कारण ३७ दुर्घटना भएको विवरणमा उल्लेख छ। सडकको अवस्थाका कारण भएका दुर्घटनामा ओरालो सडक ५, घुम्ती वा मोड ५, चिप्लो सडक ५, उकालो सडक ३, साँघुरो सडक ३ र खाल्डाखुल्डीका कारण ३ दुर्घटना भएका छन्। मौसमका कारण २ र जनावरका कारण २३ दुर्घटना भएका छन्।

ट्राफिक प्रहरीले अधिकांश दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालेको छ।

लुम्बिनी प्रदेशमा सडक सञ्जाल १५ हजार ७०६ किलोमिटर पुगेको छ, जुन अघिल्लो वर्षभन्दा ०.९६ प्रतिशत बढी हो। प्रदेशमा दर्ता भएका सवारी साधनको संख्या १७ लाख ५ हजार ४९ पुगेको छ। तीमध्ये १४ लाख ६३ हजार २०५ निजी मोटरसाइकल तथा स्कुटर रहेका छन्, जुन कुल दर्ता सवारीको ८५.८९ प्रतिशत हो।

कारबाहीबाट साढे १३ करोड राजस्व

आर्थिक वर्ष २०८२ ८३ मा ट्राफिक नियम उल्लंघन गर्ने १ लाख २० हजार ४८ सवारी साधनलाई कारबाही गरिएको छ। कारबाहीबाट १३ करोड ५८ लाख ६ हजार ६३ रुपैयाँ राजस्व संकलन भएको छ। थप ५८६ सवारी साधन यातायात कार्यालय पठाउँदा १ करोड ९६ लाख ५० हजार रुपैयाँ अतिरिक्त राजस्व संकलन भएको विवरणमा उल्लेख छ। गम्भीर नियम उल्लंघन गर्ने ९ जना चालकको लाइसेन्स निलम्बन प्रक्रियामा रहेको र ३ जनाको लाइसेन्स निलम्बन भइसकेको ट्राफिक प्रहरीले जनाएको छ।

लुम्बिनीमा ५३ ब्ल्याक स्पटमा संकेत उपकरण

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले वर्षभर १० हजार ६६२ जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ५ लाख ५ हजारभन्दा बढी नागरिकलाई सचेत गराएको जनाएको छ। यसमध्ये ७ हजार ४८६ कार्यक्रम चालक तथा सहचालक र १ हजार २५३ कार्यक्रम विद्यार्थी लक्षित थिए। प्रदेशका ५३ दुर्घटना जोखिम क्षेत्र ब्ल्याक स्पटमा १३० संकेत उपकरण जडान गरिएको तथा बाँकेका मुख्य चोकहरूमा ट्राफिक लाइट मर्मत र सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ। ट्राफिक प्रहरीका अनुसार तीव्र गति नियन्त्रण, मापसे परीक्षणमा कडाइ, लेन अनुशासनको पालन र मोटरसाइकल चालकलाई लक्षित सडक सुरक्षा अभियान प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके दुर्घटना तथा जनधनको क्षति उल्लेखनीय रूपमा घटाउन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?