Butwal Today

प्याब्सन सिद्धार्थनगरद्वारा नयाँ मूल्याङ्कन प्रणालीबारे शिक्षकलाई प्रशिक्षण

१० श्रावण २०८३, आइतबार
अ+
अ-

सिद्धार्थनगर । प्याब्सन सिद्धार्थनगरले कक्षा ४ र ५ मा लागू गरिएको नयाँ निरन्तर आन्तरिक मूल्याङ्कन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले शिक्षकहरूका लागि एकदिने तालिम आयोजना गरेको हो । तालिममा प्याब्सन सिद्धार्थनगरअन्तर्गतका २६ विद्यालयमध्ये २२ विद्यालयका ७६ जना शिक्षक शिक्षिकाहरु सहभागी भएका रहेका थिए ।

प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदयकुमार मल्लीका अनुसार संस्थाले विद्यार्थी, शिक्षक, प्रिन्सिपल तथा समाजलाई लक्षित गर्दै निरन्तर विभिन्न शैक्षिक तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको बताए । सोही अभियानअन्तर्गत कक्षा ४ र ५ का शिक्षकलाई नयाँ मूल्याङ्कन प्रणालीबारे व्यवहारिक ज्ञान प्रदान गर्न तालिम आयोजना गरिएको उनले जानकारी दिए ।

अध्यक्ष मल्लीकाले नेपाल सरकारले यसै शैक्षिक वर्षदेखि कक्षा ४ र ५ मा पनि लिखित परीक्षा हटाई निरन्तर आन्तरिक मूल्याङ्कन प्रणाली लागू गरेपछि त्यसको प्रभावकारी कार्यान्वयनका लागि शिक्षकहरूलाई प्रशिक्षित गर्न आवश्यक भएको बताए । उनका अनुसार अब विद्यार्थीको मूल्याङ्कन केवल परीक्षामा आधारित नभई विद्यालयमा उपस्थितिदेखि कक्षाकोठामा सहभागिता, सिकाइप्रतिको सक्रियता, शिक्षकसँगको अन्तरक्रिया, व्यवहारगत परिवर्तन तथा सिकाइ उपलब्धिका आधारमा गरिनेछ । मल्लीले नयाँ प्रणालीअन्तर्गत अभिभावकको प्रतिक्रियालाई समेत मूल्याङ्कन प्रक्रियामा समावेश गरिएको उल्लेख गर्दै विद्यार्थीले विद्यालयमा सिकेका कुरा घरपरिवारमा कत्तिको व्यवहारमा उतारेका छन् भन्ने पक्षलाई पनि महत्व दिइने जानकारी दिए ।

तालिम प्याब्सन सिद्धार्थनगरको आयोजनामा तथा प्याब्सन रूपन्देहीको सहयोगमा सम्पन्न भएको हो । तालिमको सहजीकरण प्रशिक्षक दीपक गौतमले गरेका थिए । उनले शिक्षकहरूलाई परम्परागत मूल्याङ्कन प्रणालीबाट आधुनिक, विद्यार्थीकेन्द्रित तथा व्यवहारमुखी मूल्याङ्कन प्रणालीतर्फ रूपान्तरण गर्न आवश्यक ज्ञान, सीप र अभ्यास प्रदान गरेका थिए । तालिममा सहभागी शिक्षिका सङ्गम विकले तालिमबाट परम्परागत मूल्याङ्कन विधिभन्दा आधुनिक मूल्याङ्कन प्रणालीको प्रयोगबारे स्पष्ट बुझाइ प्राप्त भएको बताए । शिक्षकका जिज्ञासा समाधान र प्रशिक्षकसँग प्रत्यक्ष अन्तरक्रियाबाट व्यवहारिक ज्ञान हासिल गर्न सहज भएको उनको भनाइ थियो ।

त्यसैगरी अर्का शिक्षक केशवराज पालले तालिमले विद्यार्थीलाई व्यवहारिक, सहज र प्रभावकारी ढंगले सिकाउने तथा आधुनिक मूल्याङ्कन विधि अपनाउने विषयमा महत्वपूर्ण ज्ञान दिएको बताए । उनले तालिममा सिकेका विषयलाई विद्यालयमा व्यवहारमा उतार्दै विद्यार्थीको सिकाइलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । प्याब्सन सिद्धार्थनगरले आगामी दिनमा कक्षा ६, ७ र ८ का शिक्षकहरूका लागि पनि यस्तै प्रकृतिको तालिम सञ्चालन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?