© 2026
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारको कार्यशैलीले राष्ट्रियता, संविधान र लोकतन्त्रमाथि गम्भीर प्रहार गरिरहेको आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले सरकारका पछिल्ला गतिविधिले मुलुकलाई नकारात्मक दिशातर्फ धकेलेको दाबी गरे। उनले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डतासम्बन्धी विषयमा सरकारले गम्भीर गल्ती गरेको आरोप लगाउँदै संसदमा नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिलाई समर्थन गर्नु राष्ट्रहितविपरीत भएको बताए। यस्तो गतिविधिले समाजलाई विभाजित गर्ने काम गरेको उनको भनाइ थियो।
संविधान संशोधनका विषयमा बोल्दै श्रेष्ठले संविधानको मूल मर्म, लोकतन्त्र र समाजवाद उन्मुख व्यवस्थाको रक्षा हुने गरी मात्रै संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए। लोकतन्त्र कमजोर बनाउने उद्देश्यका साथ ल्याइने कुनै पनि संशोधन स्वीकार्य नहुने उनले बताए। श्रेष्ठले सरकारले अभिव्यक्ति स्वतन्त्रता, विद्यार्थी संगठन र ट्रेड युनियनमाथि नियन्त्रण गर्न खोजेको आरोप पनि लगाए। शैक्षिक तथा प्राज्ञिक संस्थालाई दलीयकरणमुक्त बनाउने नाममा लोकतान्त्रिक अधिकार सीमित गर्ने प्रयास भइरहेको उनको दाबी थियो।
सरकारले एकातिर दलीयकरण अन्त्यको कुरा गर्ने तर अर्कोतर्फ आफ्ना पक्षका व्यक्तिलाई संवैधानिक र न्यायिक निकायमा नियुक्ति दिने दोहोरो चरित्र देखाएको पनि उनले आरोप लगाए। सुकुमबासी व्यवस्थापनका नाममा गरिएको बल प्रयोगको आलोचना गर्दै श्रेष्ठले डोजर र सुरक्षाकर्मी परिचालन गरी आधारभूत मानव अधिकारको उल्लंघन गरिएको बताए। होल्डिङ सेन्टरमा आधारभूत सुविधा नदिई अमानवीय व्यवहार गरिएको उनको आरोप थियो।
कार्यक्रममा श्रेष्ठले श्रमजीवी र उत्पीडित वर्गका अधिकारमाथि अन्याय हुँदा कम्युनिस्ट आन्दोलन प्रभावकारी रूपमा प्रतिरोध गर्न नसकेको स्वीकार गर्दै वैचारिक र सांस्कृतिक सुधारसहित राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षामा कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता भएको बताए।