© 2026
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच सातै प्रदेशमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने सहमति भएको छ।
शुक्रबार सार्वजनिक गरिएको सहमति पत्रमा विगतमा प्रदेश सभामा बजेट निर्माणका क्रममा देखिएका असमझदारी, बजेटविहीन अवस्था तथा अनावश्यक राजनीतिक प्रतिस्पर्धाबाट सिर्जित समस्यालाई समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र द्रुत विकासलाई अघि बढाउने उद्देश्यले दुई दल सहमतिमा पुगेको उल्लेख छ।
सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा संयुक्त सरकारको नेतृत्व नेकपा (एमाले) ले गर्नेछ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपा (माओवादी केन्द्र) ले गर्ने सहमति भएको छ।
मधेश र गण्डकी प्रदेशमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमति पत्रमा उल्लेख गरिएको छ।
उक्त सहमति पत्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेका छन्। सहमति पत्रमा मिति २०८३ साल साउन ९ गते उल्लेख गरिएको छ।
यस सहमतिसँगै प्रदेश सरकारहरूको नयाँ राजनीतिक समीकरण बन्ने र सत्ता साझेदारीको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।