© 2026
सिद्धार्थनगर । आन्तरिक राजस्व कार्यालय भैरहवा रुपन्देहीद्वारा मदिरा व्यवसायीहरुलाइ शुक्रबार करसम्बन्धी प्रशिक्षण दिएको छ । कार्यक्रममा कर कानुनको प्रभावकारी कार्यान्वयन, आर्थिक ऐनले ल्याएको नयाँ व्यवस्था, मूल्य अभिवृद्धि कर (भ्याट), आयकर तथा अन्तःशुल्कसम्बन्धी प्रावधानबारे व्यवसायीलाई जानकारी गराइएको थियो ।
प्रशिक्षण कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोखरेलले बजारमा गलत गतिविधि गर्ने समूह सक्रिय रहेकाले व्यवसायीहरू विशेष सतर्क हुनुपर्ने बताए । उनले विगतमा भ्याट बिल जारी भए पनि नक्कली अन्तःशुल्क स्टिकर टाँसेर मदिरा बिक्री गरेको घटनामा कारबाही गरिएको स्मरण गराउँदै सस्तो मूल्यको लोभमा अवैध मदिरा खरिद–बिक्री नगर्न आग्रह गरे ।केही समयको लाभका लागि गरिएको गल्तीले पछि ठूलो क्षति निम्त्याउँछ स्टिकर टाँसिएका मदिरा मात्रै खरिद–बिक्री गर्नुहोस स्टिकरको क्यूआर कोडलाई नेपाल एक्सरसाइज ल्भउब िभ्हअष्कभ एपमार्फत स्क्यान गरेर पनि त्यसको वास्तविकता परीक्षण गर्न सकिन्छ, उनले भने ।
मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष यादव पोखरेलले करसम्बन्धी कानुनी व्यवस्था बुझ्न यस्ता प्रशिक्षण कार्यक्रम व्यवसायीका लागि उपयोगी हुने बताए । उनले कर अनुपालनलाई प्रभावकारी बनाउन संघले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए । संघका वरिष्ठ उपाध्यक्ष तथा व्यवसायी भागिरथ पाण्डेले कर कानुनबारे पर्याप्त जानकारी अभावमा कतिपय व्यवसायीबाट अनजानमै कमजोरी हुने गरेको उल्लेख गर्दै प्रशिक्षणले व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन महत्वपूर्ण सहयोग पुगेको बताए । उनले व्यवसायीहरूलाई पारदर्शी कारोबार, सही बिलिङ र करको पूर्ण पालना गर्दै वैधानिक व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।
प्रशिक्षक तथा आन्तरिक राजस्व कार्यालय भैरहवाका कर अधिकृत गौरव पाण्डेले आर्थिक ऐनले ल्याएको कर छुट (स्किम), व्यवसाय दर्ता, प्यान, कर विवरण र कर भुक्तानी सम्बन्धी व्यवस्थाबारे विस्तृत जानकारी गराइएको बताए । उनका अनुसार व्यवसाय दर्ता गरे पनि प्यान नलिएका, कारोबार गरेर पनि विवरण नबुझाएका वा कर नतिरेका व्यवसायीलाई लक्षित गरी ल्याइएको स्किमबारे सहभागीलाई स्पष्ट पारिएको थियो । उनले आयकर ऐन, मूल्य अभिवृद्धि कर ऐन र अन्तःशुल्क ऐनका व्यवस्था, कर अनुपालनका प्रक्रिया तथा सामान्य कमजोरीले समेत ठूलो कानुनी समस्या निम्त्याउन सक्ने विषयमा सहभागीलाई सचेत गराइएको बताए । यस्ता प्रशिक्षणले व्यवसायलाई व्यवस्थित बनाउने, अभिलेख व्यवस्थापन सुधार गर्ने तथा कर कानुनको पालना गर्न व्यवसायीलाई थप सहयोग पुग्ने उनको भनाइ थियो ।
कार्यक्रममा मदिरा व्यवसायी संघ भैरहवाका संस्थापक अध्यक्ष केशवराज ज्ञवाली, कार्यक्रम संयोजक उमनाथ पोखरेल, निवर्तमान अध्यक्ष बाबुराम पाण्डे, महासचिव सुन्दर भण्डारी, कोषाध्यक्ष विनोद आचार्यलगायत व्यवसायीहरूको सहभागिता रहेको थियो ।