Butwal Today

बब्लु गुप्ताको बाइक स्टन्टपछि जनताको प्रश्न : सांसदमाथि पनि कानुन समान रूपमा लागू हुन्छ ?

८ श्रावण २०८३, शुक्रबार
अ+
अ-

काठमान्डौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री बब्लु गुप्ता गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेपछि उनी आलोचनामा परेका छन् ।

सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद गुप्ताको सार्वजनिक भएको भिडियोमा उनी गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर मोबाइल चलाइरहेको देखिन्छ । भिडियोमा उनले हेल्मेटसमेत नलगाएको देखिएकाले सडक सुरक्षासम्बन्धी आधारभूत ट्राफिक नियम उल्लंघन गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।

सार्वजनिक पदमा रहेका व्यक्तिले नै ट्राफिक नियमको बेवास्ता गर्दै जोखिमपूर्ण शैलीमा यात्रा गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले आपत्ति जनाएका छन् । सांसदजस्ता जिम्मेवार व्यक्तिले नियम पालना गरेर नागरिकलाई सकारात्मक सन्देश दिनुपर्ने उनीहरूको धारणा छ । कतिपयले यस्तो गतिविधिले सर्वसाधारणमा गलत सन्देश जाने टिप्पणी गरेका छन् ।

घटनाबारे सांसद गुप्ताले ट्राफिक नियम उल्लंघन भएको स्वीकार गरेका छन् । उनले कानुनी कारबाही स्वीकार गर्न आफू तयार रहेको बताउँदै सम्बन्धित मोटरसाइकललाई जरिवानाका लागि ट्राफिक प्रहरी कार्यालय पठाइसकेको जानकारी दिए ।

सांसद गुप्ताको उक्त भिडियो अहिले पनि सामाजिक सञ्जालमा तीव्र रूपमा शेयर भइरहेको छ । घटनापछि सामाजिक सञ्जालमा एउटा प्रश्न व्यापक रूपमा उठेको छ– यदि यही काम कुनै सर्वसाधारणले गरेको भए तत्काल जरिवाना र कारबाही हुने थियो भने, सांसद वा सार्वजनिक पदमा रहेका व्यक्तिमाथि पनि कानुन समान रूपमा लागू हुन्छ कि हुँदैन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?